
मधेसखबर
वीरगन्ज,२९जेठ :नेपाल प्रहरी पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा (सांसद) को निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् ।
पर्सामा प्रहरी उपरिक्षक रहिसकेका खरेल सुशासन पार्टीका अध्यक्ष समेत हुन् । यसअघि उनको पर्सा , रौतहट वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए । नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा विजयी भएको क्षेत्र काठमाण्डौ १ बाटै खरेलले चुनाव लड्ने घोषणा गरेका हुन् ।
यसअघि सामाजिक अभियान्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ ।

