काठमाडौं,१कात्तिकःजेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गरेका हुन् ।
उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न लागिएको नभइ जेनजीको आधिकारिक पार्टी हुन खोल्न लागिएको दाबी गरे । आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताए । उनले भने, ’बटम लाइन पूरा नभई हामी चुनावमा जाने तयारी छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो प्रमुख मुद्दा हो र यसबिना कतै जाने छैनौँ। पार्टी खोल्नुको अर्थ चुनाव लड्नु होइन, संगठित भएर अघि बढ्नका लागि हो।’
उनले थपे, ’आधिकारिक हुनका लागि भीड मात्र पर्याप्त होइन। देश विकासका लागि एनजिओ वा राजनीतिक दल खोल्नुपर्छ, हुलमुलले केही हुँदैन।’
उनले आगामी कार्यसूचीमा भ्रष्टचारमा संलग्नलाई कारबाही गर्ने, आर्थिक रुपान्तरण अघि बढाउने र अन्य एजेन्डा समावेश रहेको जानकारी दिए। ढुंगानाले स्पष्ट पारे, ’यो सरकार जेन–जीले बनाएको हो, तर सरकार बनाउने प्रक्रियामा म व्यक्तिगत रूपमा पर्दिनँ।’ नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुङ्ग्याइने ढुंगानाले जानकारी दिए ।

