काठमाडौं,२ असोजः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् ।
नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन र ज्यादती सुरु गरेको आरोप लगाए ।
‘अहिलेको तथाकथित नयाँ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौं,’ प्रचण्डले भने ।
‘म सबै नेता कमरेडहरूलाई प्रष्टसँग भन्न चाहन्छु, हामी त्यसको तयारीका लागि विभिन्न पार्टी, बुद्धिजिवी, नागरिक समाजसँग लगातार छलफलमा छौं र सकारात्मक दिशामा चिजहरू अगाडि बढ्दैछन्,’ प्रचण्डले भने ् ।
उनले सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्ने बताए ।‘तपाईं हामी सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने नयाँ संकल्प गनुपर्ने आवश्यकता छ । हामी अहिले त्यही प्रक्रियामा छौं,’ उनले भने ।चाडपर्वपछि देशको परिस्थितिलाई हेरेर नयाँ आन्दोलन सृष्टि गर्नुपर्ने उनको भनाइ थियो ।साभारः अनलाइनखबर

