मधेसखबर
वीरगन्ज,२८जेठ:मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारले एैन मार्फत नै महिलाको समान सहभागितालाई ग्यारेण्टी गर्ने प्रयास गरेको बताएका छन् ।
वीरगन्जमा शनिबार आयोजित जसपाको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि प्रदेशभरीका हरेक कार्यालयमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य रहने गरी एैनमा नै उल्लेख गरेको बताए ।प्रदेश प्रहरी एैन तथा प्रदेश निजामति एैन मार्फत महिला सहभागिताको सवालमा समान सहभागिताको अवधारणा अघि बढाइएको उनले बताए ।
मुख्यमन्त्री राउतले अब सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत बालिकाहरुको खातामा नै पैसा पठाउने गरी कार्ययेजना बनाइएको पनि बताए ।
कार्यक्रममा सघीय सांसद प्रदीप यादवले अन्य पार्टीले कार्यकर्तालाइ प्रयोग मात्रै गर्ने तर जसपाले कार्यकर्ताको योगदानको आधारमा जिम्मेवारी दिने भएकाले पार्टीमा गोलबद्ध हुन आग्रह गरे ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज का वासिन्दाले विश्वास गरेर आफूलाई जिम्मेवारी दिएकाले उनीहरुको विश्वास र भरोसा टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नगर बनाउने सवालमा सबैको साथ र सहयोगको आवश्यकता रहेको भन्दै उनले त्यसका लागि आआफ्नो ठाउँबाट सहयेग गर्न आग्रह गरे ।घण्टाघरको सडक केही दिनमा सबै कानूनी अड्चन टुग्याएर कालोपत्रे गरिने पनि उनले जानकारी दिए ।महानगरले नगरमा रहेका महिलाहरुको आर्थिक स्तर वृद्धिका लागि विभिन्न योजनाहरु सञ्चालन गर्न लागिरहेको उनले जानकारी दिए ।
जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करीब एक सय जना जसपामा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका जिल्ला उपाध्यक्ष रविन्द्र ठाकुर, क्षेत्रीय प्रतिनिधि किशोरी प्रसाद पटेल, अशोक सर्राफ, एमालेका सफल कुमार साह,मनोज क्षेत्री, राकेश दुबे प्रदिप शर्मा ,लालबाबु ठाकुर ,उत्तम जोशी ,मोबारक मियाँ लगायत जसपामा प्रवेश गरेका हुन् ।नवप्रवेशीहरुलाई मुख्यमन्त्री राउत सांसद प्रदीप यादव र नगरप्रमुख सिंहले अबिर र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद करिमा बेगम , वडा नम्वर ८ का वडाध्यक्ष रितेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

