
मधेसखबर
वीरगन्ज,१८जेठ :वीरगन्जको श्रीपुर स्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्धा दायर गरेको छ ।
अख्तियारले प्रधानाध्यापक बलरामसँग ३० लाख ४२ हजार ३७८ रुपैयाँ र कर्मचारी राकेशमानसँग २९ लाख ५० हजार रुपैयाँ विगो माग गर्दै मुद्धा दायर गरेको हो ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय पर्साबाट आर्थिक वर्ष २०६८÷०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माण बापत जम्मा २९ लाख ५० हजार रुपैयाँ सम्बन्धित शीर्षकमा खर्च नगरी आफूखुसी खर्च गरेको आरोप दुवै जना माथि छ ।
यस्तै आर्थिक वर्ष २०६७÷०६८ को साउन देखि असोज सम्मको तलब र दशै खर्च बापतको रकम ९२ हजार ३७८ रुपैयाँ दोहोरो तलब लिएको पनि अख्तियारको दाबी छ ।

