
मधेस खबर
वीरगन्ज,१३ जेठ :सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ ।
रुस र युक्रेनबीचको युद्धको असर अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को यही जेठ १० गते बसेको बैठकले कर समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
प्रतिनिधि सभाको शुक्रबाारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन गर्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको जानकारी दिएका हुन् ।
अघिल्लो सरकारले पूर्वाधारको विकासमा जोड दिने भन्दै इन्धनमा प्रतिलिटर १० रुपैयाँ बराबरको कर उठाउने निर्णय गरेको थियो । पूर्वाधार करका नाममा उठेको रकम सोझै सरकारको राजस्व खातामा जम्मा हुने गरेको छ ।मन्त्रिपरिषद्ले कर समायोजनका सम्बन्धमा निर्णय गरेको भए पनि अर्थ मन्त्रालयले आवश्यक निर्णय गर्नुपर्नेछ । अर्थ मन्त्रालयले त्यस सम्बन्धमा विचार गरिरहेको समेत मन्त्री बडूको भनाइ छ ।
नेपाल आयल निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँमा बिक्री गरिरहेको छ ।लगातार मूल्यवृद्धि भएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । मन्त्री बडूले भने आन्तरिक कारणले नभइ अन्तर्राष्ट्रिय कारणले पेट्रोलियम पदार्थको मूल्य आकाशिएको जानकारी दिए ।
सरकारको पछिल्लो निर्णयका आधारमा अर्थ मन्त्रालयले उपयुक्त निर्णय गर्ने जनाएको छ ।निगमका अनुसार अहिले पेट्रोलको खरिद मूल्य प्रतिलिटर एक सय ९४ रुपैयाँ ६४ पैसा रहेको छ । निगमले अहिले तय गरेको मूल्यका आधारमा पेट्रोलमा नै प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा घाटा रहेको छ । निगमले १५ दिनमा मात्रै पेट्रोल बिक्रीबाट ४९ करोड ९६ लाख रुपैयाँ बराबरको घाटा हुने प्रक्षेपण गरेको छ ।
त्यस्तै डिजलको खरिद मूल्य प्रतिलिटर एक सय ८९ रुपैयाँ ८२ पैसा रहेको छ । निगमले प्रतिलिटर एक सय ६३ मा बिक्री गर्दै आएको छ । डिजलबाट मात्रै १५ दिनमा एक अर्ब ६९ करोड ४८ लाख रुपैयाँ बराबरको घाटा हुने गरेको छ ।
निमगले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिसिलिन्डर लागत दुई हजार ६ सय ७९ रुपैयाँ ७५ पैसा रहेको छ । निगमलाई ग्यासबाट मात्रै प्रति सिलिण्डर ८ सय ७९ रुपैयाँ ७५ पैसा घाटा छ ।निमगलाई १५ दिनमा तीन अर्ब ३५ करोड ८३ लाख रुपैयाँ बराबरको घाटा हुने गरेको छ ।
निगमलाई ग्यासमा मात्रै एक महिनामा तीन अर्ब, डिजलमा तीन अर्ब ४० करोड र पेट्रोलमा एक अर्ब रुपैयाँ घाटा हुने सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो । निगमले यही जेठ ८ गते मात्रै मूल्य समायोजन गरेको थियो ।

