काठमाडौं,२३मंसिरःभन्सार एजेन्ट महासंघ नेपालले आज (मंगलबार) वीरगन्ज भन्सारसहित देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको छ । भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत भन्सार एजेन्ट महासंघले आज वीरगन्ज भन्सारसहित देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’ गरेको हो ।
भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पु¥याउने वातावरण सृजना भएकाले आन्दोलनमा उत्रिनुपरेको महासंघ अध्यक्ष प्राचिनकुमार थैवले बताए ।
महासंघले आइतवार वीरगञ्ज भन्सार कार्यालय र सोमबार भैरहवा भन्सार कार्यालय ठप्प गरेको थियो । ‘नयाँ भन्सार ऐन जारी भएसँगै देखिएका समस्या एवं भन्सार एजेन्टहरूको पेशासँग सम्बन्धित मागहरू सम्बोधन नगरिए आजै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्छौं’ उनले भने ।
हालै लागू भएको भन्सार ऐनमा भन्सार एजेन्टको नाम, दण्ड जरिवाना, भन्सार एजेन्टको इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीसँग सम्बन्धित ‘युजर आईडी’ व्यवस्थापन, ‘एक्जिट नोट’ एवं ‘इन्ट्री नोट’ लगायत इजाजत प्राप्त भन्सार एजेन्टहरूवाट मात्र मालबस्तु जाँचपास गर्ने व्यवस्था ऐनमै हुनुपर्ने माग महासंघले राखेको थियो ।
तर, मागको वेवास्ता गर्दै लागू भएको भन्सार ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको, वैध व्यापारलाई निरुत्साहित गर्दै तजबिजी अधिकारलाई बढावा दिएको महासंघको ठहर छ ।
भन्सार जाँचपासमा हुने ढिलासुस्ती, भन्सार स्वचालन प्रणालीमा हुने सर्भर समस्या एवं राजश्व भुक्तानी, क्वारेन्टाइनलगायतका समस्याका बारेमा भन्सार विभाग समक्ष ताकेता र समन्वय गर्दा पनि समस्या समाधानका लागि पहल नहँुदा भन्सार जाँचपास प्रक्रिया सहज र सरल हुन नसकेको केन्द्रीय सदस्य घिमिरेले बताए ।

