Madhes Khabar
कृषि

ठोरीमा लगाइएको चैते धानमा बाला नलाग्दा किसानहरु चिन्तित्

तस्वीर :माधव तिमिल्सिना

मधेसखबर
वीरगन्ज,१२ जेठः
पर्साको ठोरीमा किसानले रोपेको चैतेधान बालीमा धानमा दाना नलाग्दा किसानहरु मर्कामा परेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगतको धान जोन कार्यक्रममा सहभागी भएर चैते धान खेती गरेका ठोरीका किसानको धानबालीमा दाना नलागेको हो । ५० प्रतिशत अनुदानमा बिउ सुविधा र अन्य यान्त्रीकरणको सुविधा प्राप्त गरेर धान खेती गरेका ठोरी –३ मा अधिकांश किसानहरुको खेतमा बाला पसाएपनि दाना लागेको छैन ।धान जोन अन्तरगत करीब ११० बिघा र अन्य किसानले व्यक्तिगत रुपमा रोपेको धानमा समेत बाला लागेपनि सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।
धान जोन कार्यक्रम मार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध भएको हर्दिनाथ –१ प्रजातिको धान लगाएका किसानको खेतमा नै बाला सुक्न थालेपछि लगानी र मेहनत दुबै खेर जान लागेको ठोरी –३ का नवनिर्वाचित वडाध्यक्ष शम्भु खड्काले बताए । ठोरी –३ मा सिचाईको उपलब्धता र धान खेती धेरै हुने भएकोले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम अन्तरगत धान जोन कार्यक्रम लागु गरिएकोछ । यस्तै धान जोनमा सहभागी नभएका अन्य किसानहरुले समेत धान खेती गर्ने गरेका छन् ।
ठोरी ३ मा मात्र यस वर्ष करीब ३ सय बिघा भन्दा धेरै जग्गामा चैते धान खेती गरिएकोमा धानमा दाना नलागेको स्थानीय अगुवा ठाकुर प्रसाद न्यौपानेले जानकारी दिए ।बितेको चैतको पहिलो सातातिर धान रोपेका किसानको बिरुवा फस्टाएको र बाला झुलेको भएपनि धानमा दाना नलाग्ने समस्या भेटिएको ठोरी गाउपालिकाको कृषि शाखा प्रमुख चन्दन थारुले जानकारी दिए । उनले किसानले धानमा दाना नलागेको गुनासो गरेपछि फिल्डमा गएर हेर्दा धान बालीमा दाना नलागेको अवस्था देखिएको बताए ।
यसको कारणबारे अध्ययन गर्न आएको कृषि ज्ञान केन्द्र बीरगंजको टोलीले समेत कुनै निष्कर्ष निकाल्न सकेको छैन । कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख मुन्निलाल प्रसादले माटोमा बोरन तत्वको कमीका कारण दाना नलागेको हुन सक्ने बताएपनि ठोस कारण भने भन्न सकेनन् । बरु विभागीय प्राविधिकहरु बोलाएर अनुसन्धान गर्न पहल गर्ने किसानहरुलाई जवाफ दिएर उनको टोली फर्किएको छ ।
कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत श्याम किशोर यादव समेत सहभागी टोलीले राहत र कारणको खोजी गरिरहेका स्थानीय किसानलाई थप अनुसन्धान गर्ने र क्षतिपुर्तिका लागि स्थानीय सरकारसंग पहल गर्न भन्दै झारा टार्ने काम गरेको स्थानीय किसानको गुनासो छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत धान जोन कार्यक्रमका बरिष्ठ कृषि अधिकृतले भने मरुवा रोग लागेर धानमा दाना नलागेको आशंका गरे। उनले पनि समस्याको स्पष्ट कारण भन्न सकेनन् ।


’किसानको लगानी र मेहनत डुब्यो ’
ठोरी –३ बुद्धनगरका ५५ वर्षीय चित्र बहादुर खड्काले करीब १ बिघामा चैते धान लगाएका छन्। बिउबिजन , खनजोत , मलखाद गरेर अहिलेसम्म करीब २५ हजार भन्दा धेरै खर्च गरिसकेका खड्काको खेतमा धानको बाला रहर लाग्ने गरी झुलेको त छ तर दाना लागेको छैन ,खोस्टो मात्र छ । उनले अब कतैबाट पनि क्षतिपूर्ति नपाउने भए ट्र्याक्टर लगाएर धान खेत नै जोत्न लागेको गुनासो गरे ।
त्यहि वडाको रामनगरका करीब ६० वर्षीय कर्ण बहादुर पुलामीको डेढ बिघा खेतमा पनि उस्तै समस्या छ । बाला सुक्न लागेको भएपनि खेतमा पानी लगाउदै गरेका उनलाई पनि करीब ३० हजार भन्दा धेरै खर्च भएकोले तनाव थपिएको छ । बुद्धनगरका मुकुन्द ढुङ्गेललाई घरमा भएको धान पनि सकिएको र खेतमा पनि नफलेपछि अब धान किन्न नसकिएला भन्ने चिन्ताले पिरोलेको दुखेसो पोखे । उनको पनि खेतमा धानको बाला लागेपनि दाना लाग्नु अगाडि नै बाला सुक्न थालेको छ ।

ठोरीमा नै तुलनात्मक रुपमा अन्य वडामा भन्दा सबैभन्दा धेरै चैते धान खेती हुने क्षेत्रमा नै धानमा समस्या देखिएपछि किसानहरुको खेती गर्ने जाँगर नै मरेको छ । आफुले थाहा पाएसम्म आजभन्दा अगाडी यस्तो समस्या कहिले पनि थाहा नपाएको बुद्धनगरका एक जना ७५ वर्षीय ज्येष्ठ नागरिकले सुनाए । आफुहरुलाई तत्काल क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने किसानहरुको माग छ ।

Related posts

कृषिमन्त्री पटेलले भने : म किसानको छोरा हुँ, कृषकका समस्या समाधानमा दत्तचित्त भएर लाग्छु

MadhesKhabar

पर्सा जिल्लामा यसपालि ९८ प्रतिशत धान रोपाइँ

MadhesKhabar

वीरगन्ज चिनी कारखाना फेरि सञ्चालनमा ल्याउन सम्भव नै छैन : कृषिमन्त्री क्षेत्री

MadhesKhabar

Leave a Comment