Madhes Khabar
मधेस प्रदेश

काठमाडौं महानगरको मेयरमा बालेन साह जित उन्मुख हुँदा पुर्ख्यौली गाउँमा खुसीयाली

तस्वीर : किरण कर्ण ,रातोपाटी

मधेसखबर
वीरगन्ज, १० जेठ
: काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजन सहित गाउँलेहरु निकै हौसिएका छन् ।
मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थलोमा उनका आफन्तजनसहित छरछिमेकीहरु काठमाडौं महानगरको मेयरमा बालेनले फराकिलो अग्रता बनाइरहँदा खुसी छन् ।
बालेनको पुख्र्यौली घरमा अहिले एकडारा गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ । उनीहरु गाउँमा आउँदा आफन्तको घरमा बस्ने गर्दछन् । पहिलो पटक मधेसको एउटा ठिटो काठमाडौं महानगरपालिकाको मेयरमा दोब्बर मतले अगाडि रहँदा एकडाराका बासिन्दा गद्गद् छन् ।
बालेन निर्वाचित भएपछि उनलाई सम्मान र बधाई ज्ञापन गर्नकै लागि भए पनि यहाँका युवाहरु काठमाडौं जाने योजना बुनिरहेका छन् । बालेनका हजुरबुबा मुनिलाल साह यो गाउँका जमिनदार मानिन्थे । मुनिलालका छोरा डा.रामनारायण साह करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयूर्वेद औषधालयमा चिकित्सको रुपमा काम गर्न गएका थिए । त्यही बेलादेखि उनी काठमाडौंमा बसोबास गर्दै आएका छन् ।
उनले त्यहीँ विवाह गरे । रामनारायणका दुई छोरा जन्मिए । जसमध्ये जेठो कौशलेन्द्र साह र कान्छो बालेन्द्र साह हुन् । एकडारा गाउँमा बस्दै आएका बद्रीनारायण साह नाताले बालेनका हजुरबुबा पर्दछन् । बालेन काठमाडौं महानगरको प्रमुखमा जित उन्मुख भएको सुनेपछि आफूमा एक किसिमको कौतुहलता जागेको बद्रीनारायण बताउँछन् ।

बालेन साहको पुर्ख्यौली घर । तस्वीर : किरण कर्ण ,रातोपाटी


स्थानीयवासी सुजित कुमार यादवले बालेन साहले काठमाडौं महानगरको प्रमुखमा फराकिलो अग्रता बनाएकोमा आफूहरुलाई खुसी लागेको बताए । उनका अनुसार बालेनको परिवार जमिनदार भएकाले विगतमा गाउँका थुप्रै गरिबलाई आफ्नो जमिनमा बसोबास गर्न दिएको, गाउँमा बजार लगाउनका लागि जग्गा दिएको र गाउँघरमा हुने सामाजिक कार्यहरुमा समेत अग्रसरता लिने गरेको छ ।उनले भने, ‘बालेनको घरपरिवारले यो गाउँमा धेरै गुन लगाएको छ, यो गाउँसमाजमा उहाँहरुको धेरै योगदान छ ।’ स्थानीयवासी राजकुमार यादवले पनि बालेन काठमाडौं महानगरको प्रमुखमा विजयउन्मुख हुँदै गएकोमा खुसी व्यक्त गरे ।
त्यस्तै मोहम्मद इमुमामुदिन राइनले भने अहिलेसम्म बालेनलाई प्रत्यक्ष रुपमा नदेखेको बताए । यद्यपि उनको चर्चा गाउँमा दिनहुँ हुने गरेको उनी बताउँछन् । उनले काठमाडौं महानगरको मतगणना सम्पन्न भएपछि बालेनको भव्यरुपमा सम्मान गर्न, स्वागत गर्न र बधाई ज्ञापन गर्न आफू लगायत गाउँका धेरै जना काठमाडौं जाने तयारीमा रहेको बताए । कुरेशा खातुनले पनि बालेन विजयी भएको खबर सुन्न आफूहरु आतुर रहेको बताइन् । सभार : रातो पार्टी

Related posts

पर्सामा स्वतन्त्रको पहिलो जित , प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

MadhesKhabar

रौतहटमा टाटा सुमो र मोटरसाइकल ठोक्किदाँ २ जनाको मृत्यु

MadhesKhabar

मधेस सरकार असफल भएकाे साेनलकाे आराेप

MadhesKhabar

Leave a Comment