
क्रान्ति शाह
वीरगन्ज, ०७ जेठ : वीरगन्ज महानगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले लजास्पद हार व्यवहोरेपछि काँग्रेस नेतृत्वको चर्को आलोचना शुरु भएको छ ।
वडा नम्बर ८ मा नेपाली काँग्रेसबाट टिकट नपाएपछि जसपाबाट उम्मेदवार बनेका रितेश गुप्ता, काँग्रेसकै उम्मेदवार राजेन्द्र श्रेष्ठलाइ चार गुणा भन्दा बढि मतले पराजित गरि वडा अध्यक्षमा विजयी भएपछि काँग्रेसका नेता कार्यकर्ताले नै नेतृत्वको चर्को आलोचना गरिरहेका हुन् ।
विधार्थीकाल देखि नेविसंघको राजनीति आएका र काँग्रेसको बुथसभापति समेत रहिसकेका रितेश, काँग्रेसले टिकट नदिएपछि मनोनयनको अघिल्लो दिन मात्रै जसपामा प्रवेश गरेका थिए ।
रितेशले वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार राजेन्द्र श्रेष्ठलाइ ९१४ मतको अन्तरले हराउदै वडाअध्यक्षमा जित हात पारेका हुन् । रितेशले ११७५ मत पाउदका उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका श्रेष्ठले भने २६१ मत मात्रै पाएका छन् ।
काँग्रेसकै लागि लामो समय देखि राजनीति गरेका र पार्टीका लागि सदैव मरिमेट्न तयार रहने रितेशलाइ टिकट नदिइ काँग्रेस नेतृत्वमा रहेका केहि नेताले रकमको लेनदेनमा जनाधार नै कमजोर रहेका श्रेष्ठलाइ उम्मेदवार बनाएकाले शर्मनाक पराजय व्यवहोर्नु परेको काँग्रेस कार्यकर्ताहरुले टिप्पणी गरिहेका छन् ।

काँग्रेस पर्साका पुर्वसभापति राजु गुप्ताले सामाजिक सन्जालमा आफनो असन्तुष्टि पोख्दै रितेशलाइ पार्टीबाट पाखा लगाउन काँग्रेस ननेता इश्वरभक्त श्रेष्ठ र संविधानसभासदस्य अनिल रुंगटाले ८ लाख रुपैयाको लेनदेनमा श्रेष्ठलाइ काँग्रेसको टिकट बेचेको आरोप लगाएका छन् ।
पार्टीको महाधिवेशनमा आफनो पक्षमा नलागेकै कारण रितेशलाइ श्रेष्ठ र रुंगटाले त्यसैको रिस अहिले साँधेर रितेशलाइ उम्मेदवार नबनाएको आरोप पनि गुप्ताको छ ।
२०७४ को निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा लडेका रितेशलाइ राजेन्द्र श्रेष्ठले नै बागी उम्मेदवार बनेर हराएको र त्यसपछि उनलाइ पार्टीले कार्वाही पनि गरेको भन्दै पुर्व उपसभापति गुप्ताले ८ लाख रुपैया लिएर इश्वरभक्त र रुंगटाले टिकट बचेको आरोप लगाएका छन् ।

उता रितेश जसपाबाट वडाअध्यक्षमा जितेपनि उनको विजय जुलुशमा शनिबार काँग्रेसकै नेता कार्यकर्ताहरु पनि सहभागी भइ खुशीयाली मनाएको तस्वीरहरु सामाजिक सन्जाल फेसबुकमा भाइरल भइरहेको छ । यस्तै काँग्रेस र उसका भातृसंगठनका स्थानीय नेता कार्यकर्ताहरुले रितेशको जितको खुशीमा सामाजिक सन्जाल फेसबुकमा खुलेरै बधाइ पनि दिइरहेका छन् ।
सामाजिक सन्जाल फेसबुकमै काँग्रेसका पुर्वनगर सचिव मनोहर साहले लेखेका छन् – सर्बे गर्दा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा रितेश गुप्ताको जितले नेपाली काँग्रेसका अधिकांश युवा र आम काँग्रेसीजन सबै भन्द्या बढि खुशी र हर्षित भएको देखियो ।

