
मधेसखबर
वीरगन्ज, ०६ जेठः वीरगन्ज महानगरपालिका वडा नम्बर २७ मा नेपाली काँग्रेसको विजय जुलुशमा सहभागीहरु माथि आक्रमण हुदा ६ जना घाइते भएका छन् ।
वीरगन्ज २७ को वडा अध्यक्षमा काँग्रेसका हृदयनारायण प्रसाद कुर्मी विजयी भएपछि बिहीबार राति काँग्रेसले विजय जुलुश निकालेको थियो ।काँग्रेसको विजय जुलुशमा वडाअध्यक्षमा पराजित एमालेका प्रदीप कुमार यादवका समर्थकहरुले आक्रमण गर्दा विजय जुलुशमा सहभागी ६ जना घाइते भएका हुन् । विजय जुलुशमा एमालेबाट पराजित यादव र उनका समर्थकहरुको समूहले आक्रमण गरेको कांग्रेसको आरोप छ ।
आक्रमणमा परी स्थानीय ५८ वर्षीय नेमा रेशा, ३० वर्षीया आयसा भन्ने मुन्नी खातुन, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी घाइते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सबै जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइते मध्ये ४ जना उपचारपछि घर फर्किए सकेको तथा महम्मद मियाँ र आयसा खातुनको वीरगन्ज स्थित नारायणी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वीरगन्ज महानगरपालिकाको वडा नम्बर २७ को वडाअध्यक्षमा १५१६ मतका साथ कांग्रेसका कुर्मी विजयी भएका थिए । निवर्तमान वडा अध्यक्ष एंव एमाले उम्मेदवार यादव भने कुर्मी भन्दा ४०५ मत कम अर्थात १११६ मत पाएर पराजित भएका थिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा वडाध्यक्षमा पराजित यादव सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । यादव सहित ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहालाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
घाइतेहरुले आक्रमणमा वडाअध्यक्षमा पराजित निवर्तमान वडाअध्यक्ष यादवको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि उनि सहित ३ जनालाइ ल्याइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

