
क्रान्ति शाह
वीरगन्ज, २८ बैशाख :पर्सामा सुरक्षाको दृष्टिकोणले संवेदनशील मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिए पनि यस बारे सार्वजनिक जानकारी दिन नमिल्ने स्थानीय प्रशासनले जनाएको छ ।
पर्सामा १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मध्ये सुरक्षाको दृष्टिकोणले संवेदनशील र अति संवेदनशील केहि मतदानस्थल र मतदान केन्द्रको सुची बनाएर सुरक्षकर्मीको कडा निगरानी राखिएको जिल्ला प्रशनसन कार्यालय पर्साले जनाएको छ । तर कुन कुन मतदानस्थल र मतदान केन्द्र संवेदनशील सुचीमा राखिएको छ यस बारेको विवरण सार्वजनिक गर्न नमिल्ने पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।
जिल्ला सुरक्षा समितिको बैठकले पर्साका मतदान केन्द्र र मतदानस्थलहरुलाइ सुरक्षाको दृष्टिकोणले ३ तहमा वर्गिाकरण गरेको उनले बताए ।
तर त्यसको विवरण सार्वजनिक नगर्ने निर्णय पनि सुरक्षा समितिको बैठकले गरेको उनले बताए ।
प्रजिअ ढकालले सुरक्षाकै दृष्टिकोणका कारण संवेदनशील मतदान केन्द्रको विवरण सन्चारमाध्यम वा अन्य कसैलाइ पनि दिन नमिल्ने बताए । उनले भने ,‘ ‘सबै मतदान केन्द्रको हामीले वर्णीकरण गरेका छौं तर सुरक्षाको दृष्टिकोणले बाहिर भन्न मिल्दैन ।
अन्य जिल्लाका प्रशासनले त विवरण सार्वजनिक गरेका छन् नि त ? भन्ने मधेसखबरको प्रश्नमा प्रजिअ ढकालले भने ,‘ उनिहरुले नजानेर त्यो गल्ती गरेका हुन्, अरुले गल्ती गरे भन्दैमा हामीले पनि गल्ती गर्नु पर्छ भन्ने छैन ।
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले पर्साका मतदानस्थल र मतदान केन्द्रहरुलाई सुरक्षा संवेदनशीलताका दृष्टिकोणले ३ तहमा वर्गीकरण गरिएको बताइन् ।
पर्खाल वा पक्की संरचनाको घेरा नभएका मतदानस्थल र मतदान केन्द्रहरुलाई अति संवेदनशीलमा राखिएको उनले बताइन् । झाले भनिन्, ‘संवेदनशील मतदानस्थलहरुको विवरण स्थानीय प्रशासनसँग छ , हामीले भन्न मिल्दैन ।
पर्सा जिल्लामा बैशाख ३० को पालिका निर्वाचनका लागि १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार , वीरगन्ज महानगरपालिकामा सबैभन्दा बढी मतदान स्थल र मतदान केन्द्र राखिएका छन् ।महानगरमा ५५ वटा मतदानस्थल र १ सय ४३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकामा ६ वटा मतदानस्थल र १५ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ ।
भारतसँग सीमा जोडिएका , भूगोलको विकटता र यातायातको असुविधा भएका पालिकाका मतदान स्थल र मतदान केन्द्रहरुलाइ संवेदनशील मतदान स्थलको सूचीमा स्थानीय प्रशासनले राखेको हो ।
बारामा ३ सय ३ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र तोकिएको छ। ती मध्ये सिम्रौनगढ र पचरौता नगरपालिकामा राखिएका मतदानस्थल र मतदान केन्द्रहरुलाई अति संवेदनशील मानिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
क्लैया उपमहानगरपालिका , विश्रामपुर गाँउपालिका ,फेटा गाँउपालिका, देवताल गाँउपालिका , सुवर्ण गाँउपालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रलाइ भने संवेदनशील मानिएको छ ।

