
वीरगन्ज, २२ बैशाख : पर्सा–बारा–रौतहटमा पर्ने गण्डक नहर सडक अन्तर्गतका ३ वटा पुल जीर्ण हुदा दुर्घटनाको जोखीम बढेको छ ।
नियमित मर्मतसम्भार नहुँदा गण्डक नहरअन्तर्गत पर्ने ३ वटा पुल जीर्ण भएका हुन । गण्डक नहरको सडक अन्तर्गत पर्सा र बारा जिल्लामा सानाठूला गरी २६ वटा पुल छन् । तीमध्ये बाराको फेटा गाउँपालिका स्थित बगरी खोला, पर्साको वीरगन्ज महानगरपालिकामा पर्ने सिर्सिया खोला र जगरनाथपुर गाउँपालिकाको ओरिया खोलामा रहेका पुल अत्यन्त जीर्ण अवस्थामा छन् । ती पुलहरुमा ठाउँठाउँमा प्वाल परेकाले जुनसुकै बेला पनि भत्किन सक्ने जोखिम रहेको छ ।
सन् १९७५ र १९६७६ मा दुई चरणमा भारत सरकारले निर्माण गरी नेपाल सरकारलाई गण्डक नहर र यससंग जोडिएका संरचनाहरू हस्तान्तरण गरेको थियो ।
पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको वाग्मती नदिमा गएर मिसिने गण्डक नहरलाई पूर्वी नहर भनिन्छ । ८१ ीकलोमिटर लामो गण्डक नहरले त्यति बेला पर्सा, बारा र रौतहट गरी ३ जिल्लाको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिञ्चित गर्ने लक्ष्य थियो । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमि यात्रा गरेर यो नहर पर्साको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ ।
नहरसंगै निर्माण गरिएको एप्रोच सडक र उक्त सडकमा रहेका पुल तीन वटै जिल्लाका बासिन्दाले आवागमनका रुपमा प्रयोग गर्दै आएका छन । संघ सरकारले गत वर्षदेखि रौतहटदेखि पर्सासम्म यो एप्रोच सडक कालोपत्रसमेत गर्न थालेको छ । तर यस क्रममा जीर्ण पुलहरू मर्मत सम्भार वा तिनको स्थानमा नयाँ बनाउने योजना भने छैन । सडक कालोपत्र भइसकेपछि उक्त सडकको प्रयोग झनै बढ्ने र जीर्ण पुलहरूमा थप भार बढ्ने निश्चित छ ।
सामाजिक अभियन्ता प्रकाश थारू गण्डक नहरको एप्रोच सडक तीन वटै जिल्लाको वैकल्पिक लाइफलाइन रहेको बताउँछन् ।
उनी भन्छन्, ‘तीन वटै जिल्लालाई हुलाकी सडकपछि यही सडकले जोडेको छ, त्यस कारण पनि यो सडक र यसमा रहेका पुलको तीन वटै जिल्लाका बासिन्दाका लागि ठूलो महत्वव छ,‘यो सडकमा एउटा पनि पुल जीर्ण भए ग्रामिण भेगका बासिन्दाहरूलाई ठूलो समस्या हुन्छ, दैनिक आवागमनदेखि कृषि उपज बिक्री गर्ने किसानलाई पनि यो सडकको ठूलो महत्व छ ।’
सिर्सिया खोलाको पुल अत्यन्त कमजोर भएकाले भत्किएमा औद्योगिक क्षेत्रसमेत प्रभावित हुनेछ । हाल गण्डक नहर तथा यसका संरचनाको व्यवस्थापन एवम् जिम्मेवारी नारायणी सिंचाइ व्यवस्थापन कार्यालय वीरगन्जले गर्दै आएको छ । कार्यालयका सूचना अधिकृत एंव इन्जिनियर सुबोध कुशवाहाले बंगरी, सिर्सिया र ओरिया खोलाको पुल तत्कालै मर्मत सम्भार नगरिए जुनसुकै बेला ठूलै जोखिम हुन सक्ने बताए । तर मर्मतका लागि कार्यालयसँग बजेट नभएको उनको भनाइ छ ।साभार : कान्तिपुर

