सर्लाही,४साउनःथोक व्यापारीले तरकारी नकिनेपछि किसानहरुले आइतबार बिहानदेखि सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
बिक्रीका लागि लालबन्दीस्थित कृषि उपज संकलन केन्द्रमा ल्याएको तरकारी व्यापारीहरुले खरिद नगरेपछि किसानहरु तरकारी नै बोकेर राजमार्गमा उभिएका हुन् । आफूले उत्पादन गरेको तरकारी व्यापारीले नकिनेपछि बाध्य भएर राजमार्गमा आउनुपरेको किसानको भनाइ छ । यता राजमार्ग अवरुद्ध हुँदा लामो दुरी चल्ने सवारीसाधनको लाम लागेको छ । यात्रुले सास्ती खेपिरहेका छन् ।
लालबन्दी नगरपालिकाले निकासी कर लगाएकाले थोक व्यापारीहरुले किसानको तरकारी नकिनेको कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमोद थपलियाले जानकारी दिए । यसअघि मेयर, दलीय प्रतिनिधि र व्यापारीबीच भएको छलफलमा साउनदेखि लागू हुने नयाँ करको विषयमा नगरसभाबाट निर्णय गर्ने सहमति भएकामा त्यसको कार्यान्वयन नभएकाले तरकारी खरिद गर्न नसकिएको उनले बताए ।
लालबन्दी बजार विशेषगरी टमाटर, बोडी लगायतका तरकारी उत्पादनका लागि चर्चित मानिन्छ । यहाँ उत्पादित ताजा तरकारी राजधानी काठमाडौंदेखि देशका विभिन्न ठूला सहरसम्म पठाइने गरिन्छ । लालबन्दीबाट दैनिक लाखौंको तरकारी निकासी हुँदै आएको छ ।साभारःइकान्तिपुर

