
वीरगन्ज, २१ बैशाख : शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षकका लागि लिएको परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
माध्यमिक तहको शिक्षकका लागि लिइएको परीक्षामा ३२ हजार ९७ जना सहभागी भएकोमा ३ हजार ८ सय ८६ जना मात्रै उत्तीर्ण भएका हुन् । उनिहरुले १०० पूर्णांकमा ५० अंक ल्याएका हुन् ।
मधेस प्रदेशमा सबैभन्दा न्यून ६ प्रतिशत प्रतिस्पर्धी मात्रै सफल भएका छन् । मधेस प्रदेशमा २ हजार १५ जना परीक्षार्थी रहेकामा १ सय २० जनाले मात्रै सामान्य परीक्षा पास गरेका हुन् । मधेस प्रदेशमा शिक्षकको माग संख्या १ सय ११ छ ।सबैभन्दा बढी वाग्मती प्रदेशबाट १४ प्रतिशत उत्तीर्ण भएका छन् ।
सामान्य परीक्षामा उत्तीर्णले मात्र दोस्रो चरणको विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।
शिक्ष सेवा आयोगले मावि तहको तृृतीय श्रेणीका १ हजार ५ सय ५२ शिक्षक नियुक्तिका लागि गत चैत १५ मा सञ्चालन गरेको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।
पहिलो चरणको परीक्षामै ८८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण हुनाले केही विषयमा तत्काल शिक्षक पदपूर्ति हुन नसक्ने भएको छ । संस्कृत, स्वास्थ्य शिक्षा लगायतका केही विषयमा एक जना पनि उत्तीर्ण नभएको शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।
इसअघि गत वर्ष शिक्षक सेवा आयोगले लिएको शिक्षक लाइसेन्सको परीक्षामा साढे ७ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । गत वर्ष र पहिले लाइन्सेन्स परीक्षा पास गरेका परीक्षार्थी नै स्थायी पदपूर्तिको परीक्षामा सहभागी भएका हुन् ।
ऋहिले सामान्य परीक्षामा उत्तीर्ण हुनेहरूका लागि १०० पूर्णांकको विषयगत परीक्षा असार ९ गते हुनेछ । विषयगत परीक्षामा ४० अंक ल्याउने उत्तीर्ण हुन्छन् ।
आयोगले प्रावि, निमावि र मावि तहमा साढे १७ हजार स्थायी शिक्षक नियुक्तिका लागि सामान्य परीक्षा सञ्चालन गरिसकेको छ । तीनै तहमा सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षामा सहभागी हुन पाइने व्यवस्था आयोगले पहिलोपटक गरेको हो ।

