
मधेसखबर
वीरगन्ज, १५ बैशाख : ‘कोठली बाहर मत’ अर्थात् कोठा बाहिर मतदान । यो २०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनले चलाएको अभियान थियो ।तर, अहिले हुन लागेको स्थानीय निर्वाचनमा नेतृत्व उही भए पनि फरक पार्टीका सार्थ ‘भोट मलाई’ अभियानमा सिके राउत छन् । तराई मधेसका गाउँ–गाउँमा पहिले निर्वाचन बहिस्कार गर्ने उनका कार्यकर्ता अहिले भने भोट माग्न व्यस्त छन् ।
२०७४ मा बिखण्डनकारी राजनीतिको आरोप लागेका सिके राउतले आफ्नो प्रभाव क्षेत्रमा मतदान बदर गर्न नै सिकाए । त्यही आरोपमा प्रहरीको फन्दामा पनि परे । तर, पछिल्लो स्थानीय तहको उपनिर्वाचनबाट चुनावी अभियानमा होमिए । अहिले सिके राउतका नेता कार्यकर्ता चुनावी गतिविधिको माहोल तयार गर्न जुटेका छन् । स्थानीय तहमा खडा गरेको उम्मेदवारहरू मतदातालाई नमस्कार गर्दै भोट माग्न तल्लिन छन् । मध्यावधि निर्वाचनमा ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि भएको मनोनयनमा सिके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको थियो। मधेस प्रदेशको उपनिर्वाचनमा ५, कपिलवस्तु र प्रदेश १ को मोरङको एउटा स्थानीय तहमा सिके राउतको पार्टीले उम्मेदवारी दर्ता गराएको थियो ।
सिके राउतको युटर्न
तराई मधेसमा पृथकतावादी आन्दोलनको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका सिके राउत एकाएक केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सम्झौता गर्दै मूलधारको राजनीतिमा आए। २४ फागुन २०७५ सालबाट सिके राउत सरकारसँग ११ बुँदे सहमति गरी खुला राजनीतिमा आएका हुन्। ११ बुँदे सहमतिमा सिके राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतन्त्रता, स्वाधीनता र अखण्डतको रक्षा गर्ने उल्लेख गरिएको छ।
त्यस्तै सरकारले स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने, उसलाई मुलधारको राजनीति गर्न अवरोध नगर्ने र गठबन्धनका नेता कार्यकर्ताको ज्ञान तथा सीप राज्यका लागि लगाउने उल्लेख छ। त्यसयता राउतको अखण्डता विरोधी गतिविधि देखिने गरी भएको पाइँदैन। सरकारसँग सहमतिसँगै आफ्नो संगठनलाई पुनर्गठन गरी जनमत पार्टी निर्माण गरे र निर्वाचनमा सहभागी भए। आफूलाई सुरक्षित अवतरण गराए। ‘नेपालमा जटिल समस्या थिए, देशलार्ई स्थिरतामा लैजानका लागि हामीले यो कदम चालेका छौं, आन्दोलन विस्फोट हुने डर थियो तर प्रधानमन्त्रीले गर्नुभएको पहलले हामी यो अवस्थामा आइपुगेका छौं,’ सिके राउत राउतले भगवान गौतम बुद्धको नाम लिँदै भने, ‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रंग रंगमा छ।’

जनमत पार्टी किन आयो चुनावमा ?
मूलधारमा आइसकेपछि राजनीतिक अधिकारलाई उपयोग गरी चुनावी गतिविधिमा भाग लिएको जनमत पार्टीको भनाइ छ। मूलधारको राजनीतिक अधिकारलाई संस्थागत गर्ने क्रममा राजनीतिक पार्टीले पहिलो पटक चुनावमा भाग लिएर जनतामा सकारात्मक सन्देश गएपछि मूलधारको गतिविधिमा लागेको जनमत पार्टीका प्रेस संयोजक बीपी साह बताउँछन्। जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाले अर्धभूमिगत रहे पनि सहमतिपछि खुला राजनीतिमा आएकाले चुनावी प्रक्रियामा सहभागी हुनु स्वाभाविक भएको बताए।
सिके राउतले हिंसात्मक र राष्ट्रविद्रोही राजनीति नगर्ने भन्दै अन्य जनताको पक्षमा काम गर्न चाहेको बताए। तर, मधेसमा राउतलाई मूलधारको राजनीतिमा आउनुलाई सकारात्मक भने केहीले राज्यसँग आत्मसमर्पण गर्दै मधेसी समुदायलाई धोका दिएको आरोप छ।

३ सय ६५ पालिकामा सिके राउतका उम्मेदवार
उपनिर्वाचनमा ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि भएको निर्वाचनमा सिके राउतको पार्टीले १ गाउँपालिका अध्यक्षसहित ८ वडामा भाग लिएका थियो । अहिले सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सहित देशभरीमा रहेको कुल ७ सय ५३ गाउँ÷नगरपालिकामध्ये १ सय ६५ पालिकामा मनोनयन दर्ता गराएको छ । यसैगरी कुल ६ हजार ७ सय ४३ वडा मध्ये १२ सय वडामा मनोनयन दर्ता गराएको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए।
मण्डलका अनुसार चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले किसानको समस्या समाधान, भ्रष्टाचारी हटाउने, रोजगारी सृजना गर्ने जस्ता विषयलाई पार्टीको घोषणापत्रमा समेटेको जानकारी दिए। भने, ‘हाम्रो चुनावी घोषणापत्रको मूल मर्म सामुदायिक स्वराज र देशको कायम लोकतन्त्र नभई प्रत्यक्ष लोकतन्त्रको अनुभूति गराउन जनमत पार्टीलाई जिताउन आग्रह गर्छौं।’ साभार : गोविन्द महत्तो ,अन्नपूर्णपोष्ट

