
माधुरी महत्तो
वीरगन्ज , ०९ बैशाख : बिहीबार देखि देशभर माध्यमिक शिक्षा परिक्षा (एसईई) सुरु भएको छ ।
पहिलो दिन बिहीबार अनिवार्य अङग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ ।
बिहीबार देखि शुरु एसईईमा पर्सा जिल्लामा ४ हजार ८ सय ४७ छात्र र ४ हजार १ सय ८९ जना छात्रा गरी ९ हजार ५८ जना विधार्थी सहभागी भएको पर्साका शिक्षा विकास समन्वय इकाई प्रमुख फत्ते बहादुर श्रेष्ठले जानकारी दिए ।
ती मध्ये नियमित तर्फ ८ हजार ६ सय ९१ जना, प्राविधिक तर्फ २ सय ९ जना र ग्रेडवृद्धिका १ सय ५३ जना रहेको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार , पर्सामा वीरगन्ज महानगरपालिकामा १४ र बाँकी १३ पालिकामा ११ गरि कूल २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
देशभरबाट भने एसईईमा ५ लाख १४ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका छन् ।
एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिए ।
उनले यस वर्ष ११ हजार ६ सय १५ विद्यालयबाट नियमित तर्फ छात्र १ लाख ५७ हजार ९ सय १४ र छात्रा २ लाख ५७ हजार ५३ जना गरी कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी भएको बताए ।
कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको एसईई यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गरेको हो ।

