Madhes Khabar
शिक्षा हेडलाइन

हरि खेतानका विद्यार्थीहरुको प्रदर्शनले वीरगन्ज दिनभर अशान्त : ३ बुँदे निर्णयपछि आन्दोलन स्थगीत

वीरगन्ज,८चैत : वीरगन्ज–१० स्थित हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरुको प्रदर्शनका कारण वीरगन्ज आइतबार दिनभर अशान्त बन्न पुग्यो ।क्याम्पसका शिक्षकहरुको आन्दोलनका कारण परीक्षा दिन नपाएपछि आक्रोशित विद्यार्थीहरुले बिहानै देखि सडकमा उत्रिएर धर्ना र प्रदर्शनका साथै तोडफोड गरेका कारण वीरगन्ज दिनभर अशान्त बन्न पुग्यो ।

क्याम्पसको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा आइतबारदेखि सञ्चालन हुने कार्यतालिका क्याम्पस प्रशासनले सार्वजनिक गरेको थियो । तर आइतबार बिहान परीक्षा दिन विद्यार्थीहरु क्याम्पसमा पुग्दा क्याम्पस प्रशासनले शिक्षकहरुको आन्दोलनका कारण परीक्षा स्थगीत गरिएको भन्दै विद्यार्थीहरुलाई मूल गेटमै रोकेको थियो ।

त्यसपछि आक्रोशीत विद्यार्थीहरुले क्याम्पसको गेट अगाडि प्रदर्शन गर्ने क्रममा स्थिती तनावपूर्ण भएपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै तीन जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो ।लाठी चार्जबाट एक विद्यार्थी घाइते भएपछि झनै आक्रोशीत बनेका विद्यार्थीहरुले क्याम्पस अगाडि नाराबाजीसहित प्रदर्शन गरे ।

त्यसपछि नारबाजी गर्दै घण्टाघर चोकमा पुगेका उनिहरुले सडकमै धर्ना बसेर सडक अवरुद्धपनि पारे ।सडकमा टायर पनि बालेका विद्यार्थीहरुसंग प्रहरीको घम्साघम्सीपनि भयो ।त्यसपछि उनिहरु नाराबाजी गर्दै नजिकैको जिल्ला प्रशासन कार्यालय पर्सामापनि पुगे । तर त्यहाँ तैनाथ सुरक्षाकर्मीले गेटमै रोकेपछि थप आक्रोशीत भएका विद्यार्थीहरु पुन क्याम्पसमा पुगेर प्रदर्शन गरे । क्याम्पस अगाडिको सडकमा टायर बालेर नाराबाजी गरेका उनिहरुले क्याम्पसको बसमा पनि तोडफोड गरे । यसका साथै उनिहरुले शहर सौन्दर्यकरणका लागि सडकको फुटपाथमा रोपिएका रुखबिरुवाहरुपनि भाँचेका थिए ।

त्यहिक्रममा क्याम्पस प्रमुखलाई क्याम्पसबाट भगाएको आरोप लगाउँदै उनिहरुले एक युवकलाई घेरा हालेर निर्घात कुटपिटपनि गरेका थिए । विद्यार्थीहरुको प्रदर्शन उग्र बन्दै गएपछि शहरभरि बाक्लो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
प्रदर्शनमा सहभागी कक्षा १२ को शिक्षा संकायमा अध्ययनरत छात्र ओशष साहले क्याम्पसा विगत १ वर्षदेखि व्यवस्थापन र शिक्षकबीचको द्धन्द्ध चलिरहेका कारणले आँफुहरुको भविष्य बर्बाद भइरहेको बताए ।

आइतबारदेखि सुरु हुने भनिएको परीक्षा दिन क्याम्पसमा पुग्दा परीक्षा स्थगीत गरिएको भन्दै क्याम्पसभित्र प्रवेश नै गर्न नदिएको उनले बताए । उनले भने,‘ हाम्रो १ वर्षदेखि कुनैपनि आन्तरिक परीक्षा हुन पाएको छैन । सरहरुले आन्दोलनका बहानामा पढाउनै छाड्नु भएको छ । परीक्षा दिनबाटसमेत बञ्चित पारिएपछि हामीहरु बाध्य भएर सडकमा उत्रिनु परेको हो ।’

परीक्षा दिन क्याम्पसभित्र प्रवेश गर्न खोज्दा उल्टै प्रहरीले लाठी चार्ज गर्नका साथै तीन जना विद्यार्थीलाई पक्रेर पनि लगेको उनले बताए ।हरिखेतानका विद्यार्थीहरुको आन्दोलनलाई समर्थन जनाउँदै प्रदर्शनमा सहभागी ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति राजकुमार यादवले सामुदायिक क्याम्पस हरिखेतानलाई सञ्चालक समितिमा रहेकाहरुले निजीकरण गरेर बर्बाद पारेको आरोप लगाए । उनले क्याम्पस व्यवस्थापन पक्ष र शिक्षकहरुबीचको आपसी द्धन्द्धले विधार्थीहरुको भविष्य बर्बाद भइरहेको बताए।

क्याम्पस सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले भने शिक्षकहरुले विद्यार्थीहरुलाई उचालेर क्याम्पसको शैक्षिक वातावरण विगारिरहेको बताए । नाजाय माग राखेर शिक्षकहरुले आन्दोलन गरेको कारण उनिहरुको माग व्यवस्थापन पक्षले पुरा गर्नसक्ने अवस्था नरहेको उनको भनाई थियो ।

तीन बुँदे निर्णयपछि प्रदर्शन स्थगीत
क्याम्पस व्यवस्थापन पक्ष र शिक्षकहरुबीचको आपसी द्वन्द्धको चेपुवामा परेर परीक्षाबाट बञ्चित भएका विद्यार्थीहरुको प्रदर्शन आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरु सहभागी बैठकले तीन बुँदे निर्णय गरेपछि रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा बसेको बैठकमा आन्दोलनरत विद्यार्थीका अगुवा , क्याम्पस सञ्चालक समितिका प्रतिनिधि र क्याम्पसका प्राध्यापकहरु सहभागी थिए । उक्त बैठकले क्याम्पस प्रशासनले आइतबारदेखि स्थगीत गरेको परीक्षा र पठनपाठन तत्काल सञ्चालन गर्ने ,आन्दोलनका क्रममा घाइते विद्यार्थीहरुको उपचारको व्यवस्था क्याम्पस प्रशासनले मिलाउने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिए ।

यस्तै बैठकले विद्यार्थीका अन्य माग तथा समस्याका सम्बन्धमा क्याम्पस सञ्चालन समिति, क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच सोमबार पुन जिल्ला प्रशासन कार्यालयमै बैठक बस्ने निर्णय पनि गरेको दाहालले जानकारी दिए ।

 

 

Related posts

धाेबिनी गाँउपालिका :एक वर्षमै १५ लाखकाे नास्ता, चिया पकाउन २ लाखकाे ग्याँस

MadhesKhabar

धादिङको बेनिघाटमा यात्रुबस दुर्घटना, १७ जनाको मृत्यु,मृतकको संख्या बढ्न सक्ने अनुमान

MadhesKhabar

वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता

MadhesKhabar

Leave a Comment