काठमाडौं,३१ वैशाख :भारतीय ब्याटर विराट कोहलीले आईपीएलमा कोलकाता नाइट राइडर्सविरुद्ध बुधबार राति भएको खेलमा अविजित १०५ रन बनाएसँगै टी–२० क्रिकेटमा नयाँ कीर्तिमानहरू बनाएका छन् ।
कोहली टी–२० क्रिकेटमा १० शतक बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । समग्रमा भने उनी १० वा त्योभन्दा बढी शतक बनाउने चौथो ब्याटर हुन् । यसअघि क्रिस गेल (२२), बाबर आजम (१३) र डेभिड वार्नर (१०) ले यो उपलब्धि हासिल गरेका थिए।
यसै इनिङ्ससँगै कोहली टी–२० क्रिकेटमा १४ हजार रन पूरा गर्ने पहिलो भारतीय पनि बने । उनले यो उपलब्धि ४०९ इनिङ्समा हासिल गर्दै सबैभन्दा छिटो यो कीर्तिमान बनाएका हुन् । यसअघि यो रेकर्ड क्रिस गेलको नाममा थियो, जसले ४२३ इनिङ्समा १४ हजार रन पूरा गरेका थिए ।
आईपीएलमा कोहलीको यो नवौं शतक हो, जुन प्रतियोगिताको इतिहासमै सबैभन्दा धेरै हो । दोस्रो स्थानमा रहेका जस बट्लरको ७ शतक छन् । कोहलीका यी ९ मध्ये ३ शतक रन पछ्याउँदा आएका छन्, जुन बटलरसँग संयुक्त रूपमा सर्वाधिक हो ।
यो खेल कोहलीको २७९औं आईपीएल खेल पनि थियो, जससँगै उनी आईपीएल इतिहासकै सर्वाधिक खेल खेल्ने खेलाडी बने । उनले एमएस धोनी र रोहित शर्मालाई पछि पारे, जसले समान २७८ खेल खेलेका छन् ।
यस खेलमा ‘प्लेयर अफ द म्याच’ बनेसँगै कोहलीको आईपीएलमा यो २१औं ‘प्लेयर अफ द म्याच’ अवार्ड पनि भयो । भारतीय खेलाडीमध्ये यो रोहित शर्मासँग संयुक्त रूपमा सर्वाधिक हो । समग्रमा भने एबी डिभिलियर्स (२५) र क्रिस गेल (२२) मात्र उनीभन्दा अगाडि छन्।
यति मात्र होइन, कोहली लगातार दुई खेलमा शून्यमा आउट भएपछि अर्को खेलमा शतक बनाउने आईपीएल इतिहासकै पहिलो खेलाडी पनि बनेका छन् । यसअघि उनले लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स विरुद्ध लगातार ‘डक’ सामना गरेका थिए।साभारःअनलाइखबर

