वीरगन्ज, २७ वैशाख :वीरगञ्ज महानगरपालिकाले आइतबारका दिन पठनपाठन पूर्ण रुपमा बन्द गर्न संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ । संघीय सरकारले सरकारी कार्यालयसहित शिक्षण संस्थाहरु हप्ता दुई दिन (शनिबार र आइतबार) बन्द गर्न निर्देशन दिएकोमा वीरगन्जका केहि निजी विद्यालयले त्यसको अवज्ञा गर्दै आइतबारपनि विद्यालय सञ्चालनमा ल्याएका छन् ।
त्यसैलाई लक्षित गरि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै निजी विद्यालय तथा मन्टेश्वरीहरूलाई अर्को सूचना जारी नभएसम्म आइतबारका दिनपनि पठनपाठन पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको हो ।
महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा केही विद्यालयहरूले सार्वजनिक बिदाको दिनसमेत विद्यालय सञ्चालन गरिरहेको जानकारी प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । साथै महानगरमा रहेका विद्यालयहरूको अनुगमनलाई थप प्रभावकारी बनाउने तयारीसमेत गरिएको जनाउँदै लामिछानेले केही निजी विद्यालयहरूले विद्यालय परिसरभित्रबाटै पाठ्यपुस्तक, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गरिरहेको गुनासो आएको जनाएको छ । त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिदैं महानगरपालिकाले अन्यथा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
विद्यालयलाई व्यापारिक केन्द्रका रूपमा प्रयोग गर्ने प्रवृत्तिले विद्यार्थी तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थपिएको भन्दै महानगरपालिकाले विद्यालयभित्रै किताब, ड्रेस तथा स्टेशनरी सामग्री बिक्री गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रले तोकेको भन्दा बढी तथा अनावश्यक संख्यामा पुस्तकहरू विद्यार्थीमाथि थोपर्ने कार्यप्रति पनि महानगरपालिका गम्भीर बनेको छ । साना बालबालिकालाई अत्यधिक पुस्तकको बोझ बोक्न बाध्य बनाउँदा उनीहरूको मानसिक तथा शारीरिक विकासमा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल यस्तो प्रवृत्ति रोक्न निर्देशन दिइएको छ ।
महानगरपालिकाका अनुसार आवश्यकभन्दा बढी पुस्तक प्रयोग गराएर अभिभावकबाट अनावश्यक आर्थिक भार उठाउने तथा विद्यार्थीलाई तनाव दिने कार्य सह्य नहुने उल्लेख गरिएको छ । अनुगमनका क्रममा अनावश्यक पाठ्यपुस्तक प्रयोग भएको पाइएमा सम्बन्धित विद्यालय प्रशासनमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गर्ने, विद्यालयबाटै किताब तथा पोशाक बिक्री गर्ने वा विद्यार्थीमाथि अनावश्यक पुस्तकको बोझ थोपरिने कार्य दोहोरिएमा कुनै पनि हालतमा छुट नदिइने स्पष्ट चेतावनी समेत महानगरपालिकाले निजी विद्यालयहरुलाई दिएको छ ।

