वीरगन्ज, २१ बैशाख : पर्सा र बारासहित मधेसका खासगरी शहरी क्षेत्रमा यसवर्षपनि बैशाख महिना सुरु भएसंगै चापाकलसहित खानेपानीका मुहान सुक्न थालेपछि पानीको हाहाकार नै भएको छ ।यता वीरगन्ज महानगरपालिकाको खासगरि शहरी भेग ( वडा नम्बर १ देखि १६ सम्म) का वडामा रहेका चापाकलहरु सुकेर पानी आउन छााडेपछि खानेपानीको विकराल अवस्था बन्दैछ । चापकल र बोरिङमा जडित विद्युतीय मोटरले समेत पानी नतान्दा वीरगन्जको सहरी क्षेत्रको जनजिवन कष्टकर बन्न थालेको छ ।
वीरगन्ज १० घडीअर्वाका विश्वेसर ठाकुर भन्छन्,‘ दुई हप्ता भयोे घरको चापाकलबाट पानी आउदैन ,पोहोर महानगरले गाडिदिएको डी बोरिङको सार्वजनिक नलबाट बाल्टी र कठरामा पानी ओसारेर गुजारा चलाइरहेका छौ ।
महानगरको शहरी क्षेत्रका वडाहरु ( वडा नम्बर १ देखि १६ सम्म) मा अहिले करिब ७० प्रतिशत चाापाकल सुकेर पानी आउन छाडेको छ ।पोहोर सालको जस्तै यसवर्षपनि लामो समयदेखिको खडेरी र प्रचण्ड गर्मीका कारण जमनि मुनिको पानीको लेयर झन् झन् तल झर्दै गएका कारण चापाकलमा पानी आउन छाडेको जानकारहरु बताउँछन् ।
वीरगन्ज महानगरपालिकाको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईका अनुसार, चापाकलको पाइपभित्र सतहदेखि २९ फिट तलसम्म पानी भएमात्र चापकलले पानी तान्न सक्छ तर पानीको त्यो लेयर ३० फिट भन्दा तल गयो भने चापाकलले पानी तान्न सक्दैन , पोहोर र अहिले वीरगन्जमा देखिएको समस्या त्यहि नै हो , यहाको पानीको लेयर अहिले ३० फिट भन्दा तल गइसकेको छ ।
वन फडानी र नदिखोलाको दोहनले मधेसमा पानीको समस्या
चुरे तथा भावर क्षेत्रमा बढ्दो वन फडानी र नदि खोलाको अत्याधिक दोहन भइरहेका कारणले वीरगन्जसहित मधेसका शहरी क्षेत्रमा चापाकल सुक्ने समस्या देखिएको वातावरणविद्हरु बताउछन् ।
दिनप्रतिदिन बढ्दो वन फडानी र नदि खोलाको अत्याधिक दोहन भइरहेकाले त्यसले पर्यावरणमा समेत असर परेको र मधेसमा पानीका प्राकृतिक श्रोतहरु मासिदै गएको चुरे र तराईको अन्तरसम्बन्धबारे विद्यावारिधि गरेका डा. विजयकुमार सिंह दनुवार बताउछन् । नदिजन्य वस्तुको अत्यधिक दोहन र वन फडानीको असरले नै तराई मधेसमा अहिले पानीको अभाव भएको उनको भनार्ई छ ।
उनि भन्छन्,‘ तराई मधेसमा अहिले देखिएको पानीको अभावको मुय कारण नै बढ्दो वन विनाश र अत्याधिक नदि खोलाको दोहन नै हो ।वीरगन्जमात्रै नभइ सर्लाही , महोतरी , धनुषा लगायतका जिल्लाका शहरी क्षेत्रमा अहिले पानीको समस्या देखा परिरहेको उनि बताउछन् ।
विशेषगरि चुरे भन्दा तलको भावर क्षेत्रमा पर्ने वीरगन्ज, जनकपुर लगायतका मधेसका शहरी क्षेत्रमा जमिन मुनी पानीको रिचार्ज हुन नसक्दा चापाकल, ट्युबेल लगायतका श्रोताहरु सुक्न थालेको दनुवारको भनाई छ ।उनि भन्छन्,‘ पहिले पहिले जंगगल घना थिए , खोलाहरूमा प्रशस्त ढुङ्गा हुन्थे जसले गर्दा पानी रोकिँदै आउँथ्यो, तर अहिले वन फडानी तिब्र छ , खोलाहरुको दोहनपनि अत्याधिक भइरहेको छ , त्यसकारण माथिबाट पानी बग्दा तीव्र गतिमा आउछ , कुनै अवरोध हुदैन र चुरेबाट भावर क्षेत्रमा माटोसँग पानी मिसिएर आउँदा बाक्लो भएर जमिनले सोस्न सकेन अर्थात जमिन मुनिको पानी रिचार्ज हुन सकेन अनि पानीको लेयर झन् झन् तल गइरहेको छ ।’
चुरे क्षेत्रका नदि खोलाहरुमा अहिलेपनि प्रशस्त पानी रहेको उनि बताउछन् । तर भावर क्षेत्रमा आइपुग्दा तीनै नदिखोलामा पानी नभेटिएको अवस्था रहेको उनि बताउछन् ।
दनुवार भन्छन्,‘ वीरगन्जको सवालमा कुरा गर्ने हो भने वीरगन्ज शहरको आसपासमा ठूला नदि वा खोला छैन, भएका साना नदिपनि अतिक्रमणमा परिसकेको छन् , अनि लामोसमय देखि वर्षा पनि भएको छैन , जसका कारण जमिनमुनि पानीको रिचार्ज हुन सकेको छैन , पानीको लेयर झन् झन् तल गइरहेको छ ।

