रौतहट,२०वैशाखःरौतहटमा बोक्सीको आरोपमा एक दलित महिलालाई अमानवीय व्यवहार गर्दै मानव मलमूत्र खुवाइएको घटना सार्वजनिक भएको छ ।
कटहरिया नगरपालिका वडा नम्बर ९ की ५५ वर्षीया अंकलिया देवी मुसहरलाई शनिबार बेलुकी स्थानीय केही व्यक्तिहरूले बोक्सीको आरोप लगाएर मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको हो ।
शनिबार साँझ डुमरिया मुसहरी टोलमा पीडितको छिमेकी पुकार माझीका छोराको बिहेको अवसरमा पर्साबाट शनिबार सरियतिया (छोरी पक्षको जन्ती) आएको समयमा जन्ती आएका एक १० बर्षीय बालकले उल्टी गरेका थिए । सोही बिषयलाई निहुँ बनाएर मुसहरिनले जादू टुना गरेर बच्चालाई मार्न खोजेको आरोप लगाउँदै १५ देखि २० जनाको भीड आएर पूर्व वडा सदस्य अंकलिया देवीको हात, जीउ र टाउको समातेर उनीहरूले बियरको बोतलमा घोलेर ल्याएको मलमूत्र बलपूर्वक खुवाएको पीडितकी छोरी सुमिलादेवी मुसहरिनले बताइन् ।
उनका अनुसार घटनाका बेला घरमा आमा–छोरी मात्रै थिए। “साँझ करिब ७ बजेतिर एक्कासि समूह घरभित्र पस्यो, आमा समातेर बियरको बोतलमा घोलेको मलमूत्र जबर्जस्ती ख्वायो,” छोरी सुशीला देवीले भनिन्, “विरोध गर्दा हामीमाथि हातपात पनि भयो।”
घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायब निरीक्षक मोहन आले मगरको नेतृत्वमा पुगेको टोलीले पीडितको उद्धार गरेको थियो। अचेत अवस्थामा रहेकी पिडित महिला अंकलिया देवीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गराइएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटना लगत्तै आरोपीहरुलाई प्रहरीले पक्राउ गर्न जाँदा सिङ्गो टोलका अधिकांश महिला–पुरुषले प्रहरी टोली र गाडीमाथि आक्रमणको प्रयास गरेका थिए । पीडित महिलालाई ईलाका प्रहरी कार्यालय गरुडा पठाइएको तथा आरोपीको खोजी भईरहेको सई मगरले जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले घटनाको अनुसन्धान तीव्र पारिएको र दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने बताए।

