
वीरगन्ज,२०वैशाखः वीरगन्जको मेनरोड विस्तारका लागि घरहरु डोजरले भत्काउने क्रममा इन्टरनेटका तारहरुमा पनि क्षति पुगेका कारण केहि ठाँउमा इन्टरनेटको सेवा प्रभावित भएको वल्र्ड लिंक कम्युनिकेसन लिमिटेड वीरगन्ज शाखाले जनाएको छ ।
वल्र्ड लिंक कम्युनिकेसन लिमिटेड वीरगन्ज शाखाले एक सूचना जारी गर्दै क्षति भएका तारहरु मर्मतको काम जारी रहेको जनाएको छ । सडक विस्तारको क्रममा इन्टरनेटको तारमा क्षति पुगेको भन्दै उसले ग्राहकहरूको बिग्रिएको इन्टरनेटलाई पुनः सुचारु गर्न विगत १० दिनदेखि निरन्तर लागिपरेको जनाएको छ ।
तारहरू जताततै छरपस्ट भएको कारण कुन ग्राहकको तार कुन हो भन्ने यकिन गर्न पनि निकै कठिन भइरहेको भन्दै वल्र्ड लिंक कम्युनिकेसन लिमिटेड वीरगन्ज शाखाले गण्डकदेखि घण्टाघर, लिंक रोड हुँदै छपकैया सम्म प्राविधिकहरुको टोली खटाएर मर्मतसम्भार गराइरहेको जनाएको छ ।
वल्र्ड लिंक कम्युनिकेसन लिमिटेड वीरगन्ज शाखाको सूचनामा भनिएको छ ः यदि हाम्रो टिम तपाईंको घर वरपर हाम्रो टिमले काम गरिरहेको देख्नु भएको छ भने, तुरुन्त हाम्रो टिमलाई सम्पर्क गरी आफ्नो इन्टरनेट पनि त्यही समयमा बनाइ सुचारु गराउनुहुन अनुरोध गर्दछौं।

