Madhes Khabar
अन्तर्राष्ट्रिय प्रविधि

चन्द्रयान र सूर्य मिसन पछि अब भारतको अबको मिसन समुद्रयान !

काठमाडौं,२७ भदौं : भारतले चन्द्रयान–३ र सूर्य मिसन पश्चात् अब समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको छ । यसका लागि भारतले समुद्रमा जाने यानको निर्माण गरिरहेको छ । जसको नाम समुद्रायन हो । यसलाई मत्स्य ६००० पनि भनिएको छ । उक्त समुद्रायनमा तीनजना मानिसहरु समुद्रको ६ किलोमिटर गहिराईसम्म जानेछन् अनि त्यहाँ अध्ययन अनुसन्धान गर्नेछन् ।

भारतका पृथ्वी विज्ञानमन्त्री किरेन रिजिजूूले सेप्टेम्बर ११ मा एक ट्वीट गर्दै भारतको अबको मिसन समुद्रयान भएको बताएका छन् । चेन्नाइको नेशनल इन्स्टिच्यूट अफ ओशन टेक्नोलोजीले उक्त यान बनाएको हो ।

यसका माध्यमबाट तीनजना व्यक्ति समुद्रभित्र ६ हजार मिटरको गहिराइसम्म पुग्नेछन् । उनीहरुले त्यहाँका स्रोत तथा जैविक विविधताको अध्ययन गर्नेछन् ।

उक्त परियोजनाको कारणबाट समुद्रको पर्यावरणमा कुनै नोक्सानी नहुने मन्त्रीको दाबी छ ।यो एक गहिरो सामुद्रिक मिसन हुनेछ जसबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लू इकोनोमीको विकास गर्ने उद्देश्य छ । यसबाट समुद्रको भित्र रहेका जे जानकारीहरु प्राप्त हुनेछन् त्यसबाट कैयन् मानिसहरुलाई रोजगारी मिल्नेछ । किनकि यसबाट सामुद्रिक स्रोतसाधनको प्रयोग हुनेछ ।

रोचक कुरा त के भने एकातर्फ भारतीय अन्तरिक एजेन्सी इसरोले चन्द्रयान ३, गगनयान तथा सूर्य मिसनजस्ता अन्तरिक्ष मिसन चलाइरहेको बेला पृथ्वी विज्ञान मन्त्रालयले समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको हो ।

भारतको नेसनल इन्स्टिच्यूट अफ ओसन टेक्नोलोजीले यसअघि एक पर्सनल स्फेयर यान बनाएको थियो । जुन समुद्रको ५ सय मिटर सम्मको गहिराइमा जान सक्थ्यो ।

उक्त यानमा एकजना मात्रै व्यक्ति बस्न मिल्थ्यो । यो २.१ मिटर व्यासको एउटा गोलाकार पनडुब्बी थियो जुन माइल्ड स्टीलबाट बनेको थियो । बंगालको खाडीमा एक जहाजबाट उक्त यानको परीक्षण गरिएको थियो । त्यसमा सफलता प्राप्त भएसँगै संस्थानले समुद्रयान परियोजना अगाडि बढाएको हो ।

के हो समुद्रयान मिसन ?

समुद्रयान मिसन पूर्णरुपमा स्वेदेशी लगानी तथा प्रविधिमा बनेको भारतीय सामुद्रिक परियोजना हो । यो एउटा पनडुब्बी हो जसको नाम मत्स्य ६००० राखिएको छ । यो यान निर्माण गर्न टाइटेनियम धाउको प्रयोग गरिएको छ । यसको ब्यास २.१ मिटर छ । यसमा १२ घण्टाका लागि तीन जनासम्म मानिस बसेर समुद्रको ६ हजार मिटरको गहिराइसम्म जान सक्दछन् । यो यान ९६घण्टासम्म समुद्रको पानीभित्र रहन सक्दछ ।

यो यानको सबै भाग हाल निर्माण भैरहेको छ । यो मिसनको सुरुआत २०२६ मा हुने अपेक्षा गरिएको छ । सफल लञ्चिङ पश्चात् अमेरिका, रुस, फ्रान्स, जापान तथा चीन जस्ता देशहरुको समूह अर्थात् एलिट क्लबमा भारत पनि प्रवेश गर्नेछ । ती देशहरुसँग समुद्रभित्रका गतिविधिहरुका लागि विशिष्ट खालको प्रविधि तथा वाहनहरु उपलब्ध छन् ।

समुद्रमुनि के गर्नेछ समुद्रयान ?

समुद्रयानको उद्देश्य समुद्रको गहिराईमा खोज गर्नु तथा सामुद्रिक पिँधमा खनिजको उत्खननका लागि पनडुब्बीको माध्यमबाट मानिसलाई पठाउनु हो । आमरुपमा पनडुब्बीहरु केवल ३ सय देखि ४ सय मिटरको गहिराइसम्म मात्र जान सक्दछन् । तर समुद्रयान भने ६ हजार मिटर सम्म पुग्नेछ ।

समुद्रयान परियोजनाको लागत ४१ अर्ब भारु रहेको छ । यसले समुद्रभित्र ग्यास हाइड्रेट्स, पोलीमेटालिक म्यांगानिज नोड्यूल, हाइड्रो थर्मल सल्फाइड तथा कोबाल्ट क्रस्ट जस्ता संसाधनहरुको अन्वेषण गर्नेछ । यी चिजहरु समुद्रभित्र १ हजार देखि ५५ सय मिटरको गहिराइमा पाइन्छन् ।

डीप ओसन मिसन के हो ?

सन् २०२१ मा भारतको पृथ्वी विज्ञान मन्त्रालयले यो परियोजना अघि सारेको हो । यसको उद्देश्य सामुद्रिक संशाधनहरुको खोज गर्नु हो । सामुद्रिक संशाधनहरुको उपयोगका लागि गहिरो समुद्रमा प्रविधिको प्रयोग गरी भारतको सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लू इकोनोमीको प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ ।साभार : अनलाइनखबरबाट

Related posts

तलाउमा नुहाउन पसेका ६८ वटा भैंसीहरुको करेन्ट लागेर मृत्यु

MadhesKhabar

राम नवमीमा अयोध्याको राम मन्दिरमा विशेष समारोह हुदैं

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश

MadhesKhabar

Leave a Comment