वीरगन्ज,१९वैशाख:वीरगन्जमा शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आकस्मिक रूपमा आयाेजना गरेको रक्तदान कार्यक्रममा १ सय ११ जनाले रगत दान गरेकन छन्। गर्मीयाम सुरु भएसंगै रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको संकलन र जगेडामा कमी भएपछि शनिबार रास्वपाले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे।उक्त रक्त दान कार्यक्रममा ७ महिला सहित कुल १ ुय ११ जनाले रगत दान गरेकाे रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।
रक्त दान गर्नेहरुमा राम लामा तुल्सा पौडेल , दिलिप कुर्मी , सुदिश प्रजापती , बिन्दा कुमारीअन्सारी, राजकुमार सहनी, शेख मजीद, सुनिल कुमार चौधरी लगायतका रहेका छन् ।
रास्वपा पर्साका सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त) को विशेष आतिथ्यमा आयाेजित रक्त दान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, शैक्षिक सहिद स्वर्गीय मुकुन्द खनाल प्रतिष्ठान पर्साकी सभापति मुना खनाल, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, एलोकल नेपाल खबरका सञ्चालक युवराज केसरी, कार्यक्रम संयोजक मार्टिन मोक्तान, रास्वपा पर्साका उपाध्यक्ष तुलसा पौडेल, सचिव सुदिस प्रजापति, वीरगन्ज महानगर अध्यक्ष अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
वीरगन्ज क्षेत्रमा रगतको अभाव भएको जानकारी पाएपछि छोटो समयमै कार्यक्रम आयोजना गरिएको भन्दै सांसद पन्तले रक्तदानले दिने व्यक्तिलाई कुनै घाटा नहुने तर लिनेको जीवन बचाउने भएकाले प्रत्येक तीन महिनामा रक्तदान गर्न सबैलाई आग्रह गरे।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति पटेलले हाल वीरगन्जको रक्तसञ्चार केन्द्रमा रगत अभाव हुँदा नारायणी अस्पताललगायत विभिन्न अस्पतालमा उपचारमा समस्या भइरहेको बताए। यस्तो अवस्थामा कार्यक्रम आयोजना गरी मानवता बलियो बनाएको भन्दै उनले रास्वपा पर्साप्रति धन्यवाद व्यक्त गरे। उनले रक्तदातालाई समाजका वास्तविक नायकको संज्ञा पनि दिए।

