मधेसखबर,वीरगंज १९:लेखक दिवसको अवसर पारेर नेपाली लेखक सङ्घ पर्सा शाखाले कथाकार विनयराज गौतम को नयाँ कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ सार्वजनिक गरेको छ। कार्यक्रम वीरगंजस्थित बीपीसी कलेज को ट्रेनिङ हलमा सम्पन्न भएको हो।
समारोहको अध्यक्षता नेपाली लेखक सङ्घकी उपाध्यक्ष उमा मिश्रले गरेकी थिइन् भने वरिष्ठ साहित्यकार माधवप्रसाद गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा मधेश विश्वविद्यालय का उपकुलपति दीपक शाक्य, वरिष्ठ पत्रकार जगदीश शर्मा, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य तथा समीक्षक गोपाल अश्क तथा नारायणी वाङ्मय प्रतिष्ठान का अध्यक्ष विश्वम्भरकुमार शर्मा विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा अतिथिहरूले संयुक्त रूपमा ‘च्यातिएका पानाहरू’ को लोकार्पण गरेका थिए। त्यसपछि लेखक विनयराज गौतमले आफ्नो साहित्यिक यात्रा, कथासङ्ग्रहको पृष्ठभूमि तथा कृतिका विशेष पक्षबारे धारणा राखेका थिए।
कार्यक्रममा सहभागी वक्ताहरूले कथासङ्ग्रहले नेपाली साहित्यमा नयाँ विमर्श थप्ने विश्वास व्यक्त गर्दै लेखकलाई शुभकामना दिएका थिए। कार्यक्रममा प्रमोद पाण्डेय ‘हेरम्ब’ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सिता शर्मा पन्थीले गरेकी थिइन्।

