
क्रान्ति शाह
वीरगन्ज, १५ वैशाख ः पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनको चमार बस्तीका स्व. जंगबहादुर महरा चमार र स्व. मैना देवीका पाँच मध्येका तेस्रो सन्तान हुन् ‘मनोज राम ’ ।
३५ बसन्त पार गरिसकेका मनोज रामको पहिचान पर्सा जिल्लाको दलित बस्तीमा फरक रुपमा बनेको छः‘ महुवनका मनोज सर ’। शिक्षाको पहुँचबाट बञ्चित दलित बस्तीका बालबालिकालाई घरआँगनमै निःशुल्क पढाउने अभियान उनले करिब ७ वर्षदेखि चलाइरहेका छन् ।
विभिन्न कारणले विद्यालय जान नसक्ने दलित समुदायका बालबालिकाका लागि मनोजले हाल जिल्लाका चार वटा दलितबस्तीमा निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्र सञ्चालन गरिरहेका छन् ।उनका अनुसार, पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवन, वडा नम्बर ३ कौवाबन , त्यहि वडाको कटैया र वीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनियाको मुसहर र दलितबस्तीमा सञ्चालित निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्रमा गरि १ हजार बढी दलित बालबालिका अध्ययनरत छन् ।
मनोज भन्छन्,‘ यो ७ वर्षमा निःशुल्क ट्युसन कक्षाबाट करिब ६ सय दलित बालबालिका प्राथमिक तहको शिक्षा पुरा गराएर आधारभूत शिक्षा (कक्षा ६ देखि १०) का लागि विद्यालयमा पठाइसकेका छौं । ’
आँफैपनि महुवनको चमारबस्तीको एक बिपन्न परिवारमा जन्मिएका मनोज हाल पर्साकै पकहा मैनपुर गाँउपालिका वडा नम्बर ३ स्थित रामचरित्र भगवत माविमा स्थायी शिक्षकका रुपमा कार्यरत छन् । घरपरिवारको आर्थिक अवस्था त्यति सबल नभएपनि जेनतेन गरेर स्नातकसम्मको अध्ययन पुरा गरेको मनोज सुनाउँछन् । उनि भन्छन्,‘ एक त म चमार परिवारमा जन्मिए, आर्थिक अवस्था पनि त्यति खासै राम्रो थिएन , त्यसमापनि दलित समुदायमा शिक्षाको बारेमा चेतना कमै थियो । तैपनि बुबा आमाले जेनतेन गरेर मलाई पढाउनु भएको हो । ’

दलित बस्तीका बालबालिकाहरु उमेर पुग्दापनि विद्यालयमा पढ्न नजाने, गाँउरमै खेलेर बस्ने, विद्यालय भर्ना भएकामध्येपनि अधिकांशले बिचमै विद्यालय छोड्ने जस्ता समस्या आफ्नै टोलमा मनोजले देखे । त्यो देखेपछि उनको मनमा प्रश्न उठ्यो ः आखिरमा दलितका बालबालिका किन स्कूल जाँदैनन् ? गएकाहरुपनि बिचमै विद्यालय किन छाड्छन् ?
यी प्रश्नहरुको उत्तर खोज्न थाले उनले । त्यसैक्रममा गरिबी, विद्यालयमा हुने भेदभाव लगायतका कारणहरु रहेको पत्ता लगाए । त्यसपछि मनोजले २०७६ सालमा आफ्नै टोल (महुवनको दलितबस्ती) मा १० जना बालबालबालिकालाई जम्मा गरेर उनले निःशुल्क ट्युसन पढाउन सुरु गरे ।
‘हाम्रो समाजमा दलितमाथि जातीय र छुवाछुतको विभेद अझै हट्न सकेको छैन , यो विभेदलाई हटाउन पहिला दलित आँफै शिक्षित हुनुपर्छ , शिक्षाले मात्रै समाजमा जातीय र छुवाछुतको विभेदलाई हटाउन सक्छ भन्ने मलाई लाग्यो र मैले त्यसको सुरुवात दलितबस्तीका बालबालिकाबाट सुरु गरे ’ मनोज भन्छन् ।
महुवनको दलितबस्तीमा निःशुल्क ट्युसन कक्षा चलाउन थालेको देखेपछि अन्य दलितबस्तीका अभिभावकले पनि आफ्नो बालबालिकाका लागि त्यस्तै गरेर पढाइदिन आग्रह मनोजलाई गर्न थाले । निःशुल्क ट्युसन कक्षामा बालबालिका र अभिभावकको आकर्षण बढ्न थालेपछि उत्साहित भएका मनोजले २०७७ सालमा पिस फर दलित फाउण्डेसन भन्ने सामुदायिक संस्था दर्ता गराए । त्यहि संस्थामार्फत हाल चार स्थानमा निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्र सञ्चालन गरिरहेको उनि बताउँछन् । १० जना बालबालिकाबाट सुरु गरेको निःशुल्क ट्युसन कक्षामा हाल १ हजार बढी बालबालिका अध्ययनरत रहेको उनि बताउँछन् ।

उनि भन्छन्, ‘सधैभरि आफ्नै गोजीको पैसाले निःशुल्क ट्युसन कक्षा चलाउन नसक्ने भएपछि चन्दा र सहयोगका लागि एउटा संस्था नै आवश्यक परेपछि पिस फर दलित फाउण्डेसन नेपाल नामको संस्था दर्ता गराए । तर यो संस्था कुनै एनजीओ वा आइएनजीओ चाहि होइन है । किनकि यस संस्थामा कहिबाट कुनै फन्ड आउँदैन , आएपनि हामी लिदैनौं पनि । यो विशुद्ध सामुदायिक संस्था मात्रै हो । ’
फर दलित फाउण्डेसन नेपालको संस्थापक अध्यक्षसमेत रहेका मनोजले दलित बालबालिकाको शिक्षासंगै दलितमाथि हुने जातिय विभेदका विरुद्धपनि यो संस्थाले काम गर्दै आइरहेको बताउँछन् ।
उक्त संस्थामार्फत चार दलितबस्तीमा निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्र सञ्चालनमा ल्याएपछि हाल दलित समुदायका अभिभावकमा शिक्षाप्रति जागरुकता बढेको मनोज सुनाउँछन् । उनि भन्छन्, ‘स्कुल नजाने बच्चाहरु अहिले स्कुल जान थालेका छन् । बिचमै विद्यालय छाड्ने प्रवृति हट्न थालेको छ । विद्यालयमा दलित बालबालिकाको उत्तीर्ण दरपनि बढेको छ । अभिभावकहरुमा पनि छोराछारीलाई पढाउनुपर्छ भन्ने भावना जागेको छ । निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्र सञ्चालनपछिका यीनै उपलब्धिहरु देखेर म सन्तुष्ट छु । ’
पर्सा जिल्लामा अहिलेपनि दलितबस्तीका करिब ३० प्रतिशत अर्थात करिब १० हजार बालबालिका विद्यालय शिक्षाको पहुँचबाहिर रहेको मनोज बताउँछन् । तीसबैलाई पनि विद्यालय शिक्षाको पहुँचमा ल्याउने चाहना मनोजको छ । तर चुनौती एउटै छ त्यो हो आर्थिक श्रोत कसरी कहाँबाट जुटाउने ?
हाल चार दलितबस्तीमा सञ्चालनमा रहेकै निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्र सञ्चालनमा पनि चुनौतीहरु आइरहेको उनि बताउँछन् । मनोज भन्छन्, ‘बालबालिकालाई पढाउनका लागि १२ कक्षा पास गरेका चार जना स्वंयसेवक शिक्षक राखेका छौं । उनिहरुलाई अति न्यून पारिश्रमिक दिन्छौं । सबै बालबालिकालाई हामी आँफैले कपी, कलम, किताब किनेर दिन्छौं । यीसबका लागि चन्दा उठाउँछौ । सरकारी निकायबाट एक रुपैयाँपनि सहयोग आउँदैन । ’
निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्रमा पढिरहेका बालबालिकाका फोटो र भिडियो सामाजिक सञ्जालमा बेलाबलामा राख्ने गरेको र त्यहि देखेर दाताहरुले आँफै आएर धेरथोर आर्थिक सहयोग गर्दै आएको मनोज बताउँछन् । विशेषगरी आँफुहरुको कामबाट प्रभावित भएर हाल अष्टेलियामा बस्दै आएका नेपाली नागरिक उत्सव केसीले बेलाबेलामा बालबालिकाका लागि शैक्षिक सामग्री र पोशाकका लागि सहयोग गर्दै आइरहेको मनोज बताउँछन् ।
उनि भन्छन् , ‘हरेक निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्रमा न्युनतम वार्षिक खर्च करिब १ लाख रुपैयाँको छ । त्यो रकम जुटाउने एकमात्र श्रोत चन्दा वा व्याक्तिगत सहयोग मात्रै हो । त्यहि चन्दा र सहयोगकै भारमा मात्रै निःशुल्क ट्युसन तथा सिकाई सुधार केन्द्र चलाइरहेका छौं । कहिले काँहि भनेको बेला चन्दा नआउँदा आफ्नै तलबबाट पनि काम चलाउने गरेको छु । ’
दलितबस्तीका बालबालिकालाई निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेर पढाउँदै आएका कारण मनोज विभिन्न संघसंथबाट पुरस्कृतसमेत भइसकेका छन् । भीममाया स्मृति पुरस्कार २०७८ बाट पुरस्कृत भएका मनोजलाई २०८० सालमा पर्सा मिलन केन्द्र ,गण्डकी प्रदेशअन्तर्गत मिजार समुदायबाट तथा सशस्त्र प्रहरी बल नेपालको वार्षिेकोत्सवमा पनि उनी सम्मानित भइसकेका छन्। यस्तै अनलाइनखबर डटकमले ४० वर्ष मुनिका ४० युवालाई सम्मान गर्ने क्रममा मनोजपनि सम्मानित भएका थिए ।


