काठमाडौं,४ वैशाख:अन्तरंग तथा आकस्मिक शल्यक्रिया सेवाहरू चौबिसै घण्टा सञ्चालनमा राख्दै शनिबार र आइतबार अस्पतालहरूमा सार्वजनिक बिदा हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै चैत २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्ने जानकारी दिएको हो।
उक्त व्यवस्था वीरगन्जको नारायणी अस्पतालमा पनि अब लागू हुने भएको छ ।यसअघि सरकारले सरकारी कार्यालय र विद्यालयहरुमा मात्रै हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अस्पतालहरुमा उक्त निर्णय लागू गरिएको थिएन ।
स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ’हप्तामा दुई दिन सार्वजनिक बिदा’ को नीति अनुरूप आइतबारका पूर्व–निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैँझैँ चौबिसै घण्टा सुचारु रहने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती हुन नदिन अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

