काठमाडौं,२९ चैतः नेपाली क्रिकेट टिमका सदस्य करण केसी आफ्नो सामाजिक सञ्जालमा राखेको स्टाटसका कारण विवादमा परेका छन्। अन्ततः उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु खेलमा एक प्रतिबन्धसहित शतप्रतिशत म्याच फि जरिवाना गर्दै कारबाही गर्ने निर्णय गरेको छ।
प्रतिवन्धका कारण केसीले प्रधानमन्त्री कपअन्तर्गत नेपाल पुलिस र मधेस प्रदेशबीचको म्याचमा उनी प्रतिबन्धित बनेका छन्। करणले पुलिस टीमबाट खेल्दै आएका छन्। आजको खेलको शतप्रतिशत म्याच फी पनि काटिने छ।
करण केसीले सामाजिक सञ्जालमा अम्पायरलाई खेलाडीले गल्तीले कुटेमा कति म्याच प्रतिबन्ध हुन्छ? भनेर स्टाटस लेखेका थिए। करणको उक्त स्टाटसलगत्तै क्रिकेट अम्पायर तथा स्कोरर संघले आकस्मिक बैठक बसेर विज्ञप्ति नै जारी गरी आपत्ति जनाएको थियो। लगत्तै उनले स्टाटस डिलिट गरेर आफूले रमाइलोका लागि लेखेको भन्दै क्षमायाचना सहितको अर्को स्टाटस लेखे पनि उनलाई क्यानले कारबाही गरेको हो।
आज क्यानले एक विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ। ‘प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरू सञ्चालन भइरहेका क्रममा नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरहरू प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ।’
क्यानले अगाडि लेखेको छ,’उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराइन्छ’, क्यानको विज्ञप्तिमा भनिएको छ।साभारः रातोपाटी

