
वीरगन्ज,१८ चैत : नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना घाइते भएका छन । वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले सडक किनारमा रोकी राखिएको ना ४ ख २५०३ नम्बरको तेल ट्याङ्करलाई ठक्कर दिएको थियो।
दुर्घटनापछि बसमा सवार घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित अस्पतालतर्फ पठाइएको थियो। घाइते सबैको नेशनल सिटी अस्पताल भरतपुरमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बस चालक र ट्याङ्कर चालक फरार रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूको अवस्था अनुसार केही सामान्य, केही मध्यम तथा दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरु चितवन र मकवानपुरका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

