वीरगन्ज,१०चैतः वीरगन्जको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले पर्सा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुशील कुमार कानुलाई सम्मानित गरेको छ ।
फागुन २१ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा रास्वपाबाट निर्वाचित सांसद कानुलाई मंगलबार चैती छठ पर्वको मुख्यदिन सँझियाघाटे घडिअर्वा छठपूजा छठघाटमै स्वागत गर्दै समितिले सम्मानित गरेको हो ।
समितिका अध्यक्ष राकेश साहले सांसद कानुलाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गरे ।
आफ्नै गृह वडा वीरगन्ज १० घडिअर्वा निवासी कानु प्रतिनिधि सभा सदस्य जस्तो उच्च पदमा निर्वाचित हुनु आफ्नो वडा र टोलबासीकै लागि गर्वको विषय भएकाले सम्मानित गरिएको उनले बताए ।हरेक वर्षको छठपूजामा घडिअर्वा छठ पूजा व्यवस्थापन समितिलाई कानुले अहोरात्र सहयोग गर्दै आएका कारणले पनि उनलाई सम्मानित गरिएको अध्यक्ष साहले बताए ।
सम्मान ग्रहण गर्दै नवनिर्वाचित सांसद कानुले छठी माईको पूजाकै दिन छठघाटमै सम्मानित हुन पाउँदा आँफु अत्यन्त हर्षित भएको बताए । उनले घडिअर्वा छठ पूजा व्यवस्थापन समितिमा आँफु समितिको स्थापनाकाल देखि नै सकृय रुपमा आबद्ध रहदैं आएको बताए। उनले सम्मानका लागि समिति र समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई आभार पनि प्रकट गरे ।
अध्यक्ष साहको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा वरिष्ठ अधिवक्ता पन्नालाल गुप्ता,समितिका पूर्व अध्यक्षहरु वाल्मीकि साह कानु,प्रेम साह र दिलिप साह कानु , उपाध्यक्ष आत्माराम साह कानु, घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानु लगायतकाको पनि उपस्थिती थियो ।

