सिमरा,५चैत: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश क्रिकेट संघले बिहीबार १५ सदस्यीय टोली घोषणा गरेको छ। संघले राष्ट्रिय खेलाडी अनिल साहको कप्तानीमा टोली घोषणा गरेको हो।
टोलीमा पवन सर्राफ, रुपेश सिंह, आदिल अंसारी, रञ्जित कुमार, अरनिको यादव, महमद समीर, निरज यादव, अभिषेक तिवारी, विशाल पटेल, हिमांशु दत्त, मयन यादव, विशाल सुस्लिङ, आशिक बैठा र प्रदीप पासवान रहेका छन्।
बारा, पर्सा र सप्तरीमा तीन चरणमा भएको छनौट प्रतियोगिताबाट १५ सदस्यीय टोली घोषणा भएको मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए। टोलीमा बाराका पाँच, धनुषाका तीन, पर्साका दुई, सिरहाका दुई, महोत्तरी, सर्लाही र रौतहटका एक–एक खेलाडी परेका छन्।
प्रधानमन्त्री कप चैत ७ गतेदेखि मधेस प्रदेशका रंगशालाबाट सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन जनकपुरस्थित रामजानकी रंगशालामा हुनेछ। उद्घाटन खेलमा कोशी र मधेस प्रदेश भिड्दैछन् भने त्यही दिन वीरगन्जस्थित नारायणी रंगशालामा लुम्बिनी र कर्णालबीच खेल हुनेछ।
प्रतियोगिताको फाइनलसहित १९ वटा खेल वीरगन्जमा र उद्घाटनसहित १७ वटा खेल जनकपुरमा हुनेछन् भने बाँकी १० वटा खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। आईसीसी विश्वकप लिग २ को तयारीका लागि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा प्रधानमन्त्री कपको कुनै पनि खेल हुने छैन। नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि रंगशालामा तय भएका सबै खेल मुलपानी रंगशालामा सारेको छ।
झण्डै एक महिनासम्म आयोजना हुने प्रतियोगितामा तीन विभागीय र सात वटा प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता टोली हो।दिवाकर भण्डारी/अन्नपूर्णपाेष्ट

