वीरगन्ज,१८ फागुन :पर्सा–१ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गर्दै युवा नेता सुमित चौरसिया सहित झण्डै दुई सयभन्दा बढी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
वीरगन्जमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्तले टीका–माला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै पन्तले युवाहरूको बढ्दो साथले रास्वपा देशव्यापी रूपमा बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको दाबी गरे। उनले भने, “जनता पुराना दलहरूसँग आजित भइसकेका छन्। परिवर्तन र सुशासनको अपेक्षा अब रास्वपामार्फत पूरा हुनेछ।”
रास्वपामा प्रवेश गर्दै चौरसियाले जसपा नेपाल सत्ताकेन्द्रित राजनीति र सम्झौतामा अल्झिएको आरोप लगाए। उनले मधेसका मुद्दा सम्बोधनमा कमजोरी देखिएको दाबी गर्दै आफू परिवर्तनको एजेण्डासहित रास्वपामा आबद्ध भएको बताए। “भ्रष्टाचार अन्त्य, सुशासन र युवाको भविष्य सुनिश्चित गर्न सक्ने शक्ति अब रास्वपा मात्रै हो,” उनले भने।
चौरसियासँगै प्रवेश गर्नेहरूमा विकास कुशवाहा, सुनिल अहमद, सुनिल माली, हिमांशु गुप्ता, धीरज रौनियार, सौरभ गुप्ता, राजेश राउत, ओमनाथ चौरसिया, अर्बाज अहमद लगायतका युवा रहेका छन्। रास्वपा पर्सा क्षेत्र नम्बर–१ का सभापति राम आर्यले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिइने आश्वासन दिए।

