
काठमाडौ,१५मंसिर:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेन-जी आन्दोलनमा भएको दमन र त्यसपछि भएका हिंसात्मक घटनाक्रमको जिम्मेवारी तत्कालीन सरकारको नेतृत्व गर्नेहरुले लिनुपर्ने बताएकी छन् ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै भण्डारीले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आन्दोलनको पूर्वाभास नभएको बताउनु र सुरक्षा संयन्त्रलेसमेत आफूलाई पर्याप्त सूचना नदिएको भन्नू उनकै कमजोरी भएको पनि बताइन् । उनले भनिन्, ‘जो प्रधानमन्त्री हुन्छ, उसैले आफ्नो कार्यकालभरिको जिम्मेवारी लिनुपर्छ ।’
उनले पूर्वप्रधानमन्त्री ओेलीले विधि वा कानुनको शासनको मान्ने हो भने उच्चस्तरीय छानबिन आयोगमा बयान दिन जानुपर्छ भन्ने प्रश्नमा भने उनले स्पष्ट उत्तर दिइनन् । तर उनले तत्कालीन सरकारका नेतृत्वले यस विषयमा जवाफ दिनुपर्ने भने उनले स्पष्ट पारिन् ।
भण्डारीले २४ गते भएको आगजनी, तोडफोड र लुटपाटको घटना भने प्रायोजित हुन सक्ने आशंकासमेत व्यक्त गरेकी छिन् । उनले लामो समयको तयारी नभई त्यस प्रकृतिको ध्वंस हुन नसक्ने तर्क गर्दै यसबारेमा गम्भीर छानबिन हुनुपर्ने बताइन् । उनले भनिन्, ‘२३ गतेको त्यो दु:खद् घटनाले नेतृत्वप्रति आक्रोश त हुने नै भयो । तर यो प्रायोजित पनि थियो कि भनेर हामीले अलिकति अध्ययन गर्नुपर्ने हुन्छ ।’साभार:इकान्तिपुर

