Madhes Khabar
समाचार हेडलाइन

पर्सा र सर्लाहीमा बख्तरबन्द गाडीसहित नेपाली सेनाको गस्ती

वीरगंज,फागुन १७: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै वीरगंज लगायत पर्साका विभिन्न स्थानमा बख्तरबन्द गाडी सहित सुरक्षा गस्ती तीव्र बनाएको छ।

सरकारको निर्णय अनुसार माघ २१ गतेदेखि फागुन २१ गतेसम्म सेना परिचालन गरिने व्यवस्था भएपछि सोही कार्यतालिका अनुरूप गस्ती सुरु गरिएको हो ।

श्रीजंङ्गका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार सैनिक टोली गण परिसरबाट निस्किएर घण्टाघर, रेल्वे रोड, छपकैया, इदगाहचोक र रजत जयन्ती क्षेत्र हुँदै बाइपास सडकमार्ग प्रयोग गरी गण्डकसम्म पुग्नेछ। त्यसपछि टोली परवानीपुर, ड्राइपोर्ट र पावरहाउस क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्दै पुनः गणमा फर्किने छ ।

निर्वाचन अवधिभर शान्ति–सुरक्षा सुदृढ राख्ने, नागरिकमा सुरक्षा अनुभूति दिलाउने तथा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले गस्ती बढाइएको सरकारको भनाइ छ। सेनाले संवेदनशील मानिएका क्षेत्रमा निगरानी अझ कडा पार्दै नियमित तथा सशक्त पेट्रोलिङलाई निरन्तरता दिने जनाएको छ।

यस्तै आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडी मार्फत गस्ती सुरु गरेको छ ।
आज बिहानदेखि नेपाली सेनाको टोलीले गस्ती सुरु गरेको हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो ।

यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडी सहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती सुरु गरेको हो । स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा तैनाथ नेपाली सेनाको कालिध्वज गण पाँच कुमारी ब्यारेकले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन बख्तरबन्द गाडी सहित गस्ती निकालेको जनाएको छ ।

सेनाले जिल्लाभित्र सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । अत्याधुनिक सैनिक सवारी साधनहरू प्रयोग गरी मतदान स्थलहरूमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्द सहित सुरक्षा गस्ती सञ्चालन गरिएको प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए ।

Related posts

वीरगन्जको सिर्सिया नदीलाई प्रदुषित गर्ने उद्योगीहरुलाई कारबाही गर्न सांसद जयसवालको माग

MadhesKhabar

गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृतिमा वीरगन्जमा तीन दिने कार्यक्रम हुने

MadhesKhabar

दसैं अवधिमा पर्सामा २२ सवारी दुर्घटना , दुईकाे मृत्यु ,३८ घाइते

MadhesKhabar

Leave a Comment