Madhes Khabar
स्थानिय

बारामा रास्वपा छाड्ने नेताहरुको लर्को ,संगठन विभाग प्रमुख चौधरीले पनि गरे पार्टी परित्याग

बारा,८ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् ।चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार थिए । चौधरी यसपटक पनि उम्मेदवारका आकांक्षी थिए ।रास्वपाका जिल्ला सभापति चन्दन स्वर्णकारले चौधरीले दल परित्याग गर्नुको एउटा कारण उम्मेदवार चयन रहेको बताए ।

‘उहाँ २५ हजार शुल्क तिरेर पार्टीको आन्तरिक निर्वाचनमा समावेश हुनुभएको थियो । तर अन्तिममा पार्टीले विधि विपरीत उम्मेदवार चयन गरेको प्रति असन्तुष्ट हुनुहुन्थ्यो,’ स्वर्णकारले भने ।

चौधरीले अघिल्लो प्रतिनिधिसभामा उम्मेदवार बनेका मधेसका २५ उम्मेदवारहरू मध्ये सर्वाधिक मत समेत ल्याएका थिए ।
चौधरी समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्रमा चौधरीले पार्टी छाड्दा त्यसको प्रभाव उम्मेदवारमा पर्ने रास्वपा बाराका सभापति स्वर्णकारको भनाइ छ ।जिल्ला कमिटिका सहसचिव समेत रहेका चौधरी राष्ट्रिय एकता दलमा प्रवेश गरेका छन् ।

आसन्न निर्वाचनका लागि बाराका तीन वटा निर्वाचन क्षेत्रमा अन्य दलका व्यक्ति ल्याएर टिकट दिइएपछि बारामा रास्वपाका संस्थापकहरूले धमाधम पार्टी छाडिरहेका छन् । संगठन विभाग प्रमुख चौधरी रास्वपा गठनको पहिलो दिनबाटै संगठित भएका थिए ।

यसअघि बारा क्षेत्र नम्बर–३ का उपसभापति रोशन अधिकारी, क्षेत्र नम्बर–४ का उपसभापति दिलीप पण्डित, परवानीपुर गाउँपालिका सभापति मनोज साह, देवताल गाउँपालिका सभापति कमरुद्दिन अन्सारी र महीढिमाई नगरपालिकाका सचिव प्रदिप गुप्ताले समेत पार्टी छाडेको जिल्ला सभापति स्वर्णकारले बताए ।

रास्वपाले बाराका चार मध्य तीन क्षेत्रमा नयाँ व्यक्ति प्रवेश गराएर उम्मेदवार बनाएको छ । जनता समाजवादीबाट आएका चन्दन सिंह बारा–२ मा उम्मेदवार छन् ।

बारा–३ मा कुलमान घिसिङको उज्यालो नेपालका केन्द्रीय सदस्य रहेका अरविन्द सिंह र बारा–४ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट पर्सा १ (१) मा निर्वाचित रहबर अन्सारीलाई ल्याएर रास्वपाले उम्मेदवार बनाएको छ ।

बारा–१ मा भने रास्वपाका प्रदेश सहमहामन्त्री गणेश धिमाल उम्मेदवार छन् । धिमाल अघिल्लो पटक पनि उम्मेदवार बनेका थिए ।

 

Related posts

पम्पम बिल्डिङबाट २ करोड २० लाखको मात्रै कपडा बरामद भयो : पर्सा प्रहरी

MadhesKhabar

वीरगन्जमा एकै पटकमा १४ हजार छात्राहरुलाई दिइयाे आत्मारक्षा तालिम

MadhesKhabar

ठेकेदारहरुले मिलोमतो गरेर हात पारेको सवारी र कबाडी करको ठेक्का मेयर सिंहले गरे रद्द

MadhesKhabar

Leave a Comment