वीरगन्ज,१साउनःवीरगन्ज महानगरपालिकाले आह्वान गरेको सवारी व्यवस्थापन कर र कबाडी कर संकलनको ठेक्काको टेण्डर (बोलपत्र) ठेकेदारहरुले मिलोमतोमा सकारेको आशंका भएपछि महानगरपालिकाले टेण्डर नै खारेज गरिदिएको छ ।
चालू आर्थिक वर्ष २०८२/८३ का लागि वीरगन्ज महानगरपालिकाले सवारी व्यवस्थापन कर र कबाडी कर संकलनको ठेक्का लगाउन टेण्डर (बाोलपत्र)) आह्वान गरेको थियो । तर उक्त टेण्डर ठेकेदारहरुले मिलोमतो गरेर कम रकमै सकारेको आशंका भएपछि मेयर राजेशमान सिंहको निर्देशनमा महानगरपालिकाले टेण्डर प्रकृया नै खारेज गरिदिएको हो ।
महानगरपालिकाको प्रारम्भिक अनुसन्धानमा प्रतिस्पर्धाको नाममा कृत्रिम फरक देखाएर टेन्डर सकारेको पुष्टि भएपछि महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा टेन्डर प्रक्रिया खारेज गरिएको हो ।
चालू आर्थिक वर्ष २०८२/८३ का लागि वीरगन्ज महानगरपालिकाले आह्वान गरेको कबाडी कर संकलनको टेन्डरमा ३३ वटा फारम बिक्री भएपनि केवल १३ जनाले मात्रै आवेदन दिएका थिए । त्यसमध्ये सुसिम कन्स्ट्रक्सनले ३ करोड ५० लाखमा टेन्डर हात पारेको थियो । सवारी करतर्फ ३० वटा फारम बिक्री भएपनि केवल ३ जनाले मात्रै आवेदन दर्ता गरएका थिए । जसमा अन्कित कन्स्ट्रक्सनलाई ३ करोड ५० लाख रुपैयाँँमा उक्त टेन्डर परेको थियो ।
जबकि गत वर्ष सवारी व्यवस्थापन कर संंकलनको ठेक्का ६ करोड ७१ लाख रुपैयाँमा र कबाडी कर संकलनको ठेक्का ४ करोड ३० लाख रुपैयाँमा लागेको थियो । तर, यस वर्ष टेण्डर प्रकृयामा सहभागी ठेकेदारहरुले मिलोमतो गरेर २५ देखि ५० हजार रुपैयाँको सामान्य अन्तर देखाएर टेण्डरको आवेदन हालेका थिए ।
टेण्डर खरिदकर्ताले केही जनप्रतिनीधि र नेताहरुसंगको मिलेमतोमा करिब २ करोड रुपैयाँ एकआपसमै भागबण्डा गरेर न्यून रकममा ठेक्का हात पार्ने प्रपञ्च रचेका थिए ।
महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख मनोज कर्णले सवारी कर र कबाडी करको टेण्डरमा अस्वाभाविक मिलेमतो देखिएपछि टेण्डर प्रक्रिया नै रद्द गर्नुपरेको बताए । अब फेरि खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नयाँ टेण्डरको प्रकृया सुरु गरिने भन्दै कर्णले त्यसका लागि महानगरपालिकाले नयाँ सूचना प्रकाशन गरी निष्पक्ष रुपमा ठेक्का लगाउने बताए ।

