वीरगन्ज, २८ कार्तिक:वीरगन्ज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ ।
वीरगन्जको आदर्शनगरस्थित रंगशालामा बुधबार भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले १३ हजार ९ सय जना छात्राहरुलाई आत्मारक्षा सम्बन्धि प्रशिक्षण दिएका हुन् ।
वीरगन्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमकाे खानेपानी मन्त्रि प्रदिप यादवले उद्घाटन गरेका थिए।त्यस अवसरमा उनले सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताए।उनले वीरगन्ज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्राहरुलाई आत्माविश्वास बढाउने बताए ।
नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निशुल्क रुपमा तालिम दिदा दुई देश बिचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै उनले सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने निती लिएको बताए ।खानेपानी मन्त्रि यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले अब महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश समेत दिने दाबि गरे ।
तालिमकाे उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई दिएको आजको तालिम शुरुवात मात्रै भएको बताउदै अब वीरगन्जका सामुदायिक तथा निजी बिद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मारक्षाको लागि मार्शल आर्टस् सम्बन्धि तालिम दिईने बताए।मेयर सिंहले आजको मिति सम्म वीरगन्ज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको जानकारी दिए ।
उनका अनुसार,यसअघि भारतको आग्रा स्थित एक स्थानिय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो ।
मेयर सिंहले आफूले निर्वाचनको बेला वीरगन्जका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसँग हिड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता जनाए अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताए।उनले भने ‘वीरगन्जका कोहीपनि छोरीचेली डराएर हिड्नु पर्ने अवस्थाको अन्त्य हुन्छ । मान्छे त के मृत्यु पनि मे आई कम इन ? भनेर सोधेर आउनुपर्ने अवस्था बनाउनुछ ।
वीरगन्ज उपमहानगरका इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएको धन्यवाद दिदै तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता प्राप्त गर्ने उपायको बारेमा जान्ने बताए ।
तालिमका मुख्य प्रशिक्षक डाक्टर यजनेश चित्ता सेट्टी अर्थात मास्टर चित्ताले महिला तथा किशोरीहरुलाई दिईने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो हुने बताए ।उनले आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली उर्जा प्राप्त हुने र यसले जिवन संकटमा परेको बेला महत्वपुर्ण सहयोग पुग्ने बताए ।
महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा भएको तालिमकाे उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा र वीना जसवाल, प्रदेश सांसद वीणा शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दूत देबी सहाय मिना लगायतको उपस्थिति रहेको थियो ।

