वीरगन्ज ४,फागुन: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सामा पार्टी परित्याग गरि अन्य पार्टी प्रवेश गर्ने क्रम बढेको छ।
पर्सागढी नगरपालिकामा नेपाली कांग्रेस परित्याग गरी करिब दुई दर्जन युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपा पर्सागढी नगर सभापति कवि अर्यालको अध्यक्षतामा मनवा बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता चन्द्रभूषण सिंहले नवप्रवेशी युवाहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा युवा समाजसेवी रविशंकर दास चौधरी, वडा नम्बर–९ का कांग्रेसका वडाध्यक्ष प्रत्यासी निरज चौधरी, भूपू प्रहरी रामाधारी यादव, समाजसेवी मीनबहादुर भण्डारी लगायत अन्य युवाहरू रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले फागुन २१ गतेको निर्वाचनपछि देशमा बालेनको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै त्यसले सुशासन र परिवर्तनको नयाँ दिशा दिने विश्वास व्यक्त गरे।

