वीरगन्ज ४, फागुन:पर्साका सक्रिय युवा नेता कञ्चन झा नेपाली काँग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनीत भएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीले झालाई महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको हो।
काँग्रेस केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक तथा प्रवक्ता देवराज चालिसेले झालाई औपचारिक रूपमा मनोनयन पत्र हस्तान्तरण गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने तथा समानुपातिक मत बढाउने रणनीतिअनुसार प्रचार अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यले झालाई समितिमा समेटिएको जनाइएको छ।
पछिल्लो समय पर्सा क्षेत्रमा संगठन विस्तार, युवा परिचालन तथा पार्टीप्रति जनसमर्थन बढाउने कार्यमा सक्रिय रहेका झालाई केन्द्रीय जिम्मेवारी दिनुलाई काँग्रेसभित्र युवा नेतृत्वप्रतिको विश्वासको संकेतका रूपमा हेरिएको छ।
मनोनीत भएपछि झाले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा काँग्रेसको पक्षमा जनमत निर्माण गर्न सशक्त प्रचार अभियान सञ्चालन गर्ने बताएका छन्।

