वीरगंज ४,फागुन: पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय चौरसियाले मतदातालाई अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।
मतदाता भेटघाट तथा जनसम्पर्क अभियानका क्रममा उनले नेपाली काँग्रेस सधैं जनताको हितमा काम गर्दै आएको पार्टी भएको उल्लेख गर्दै देशका ऐतिहासिक उपलब्धिहरू काँग्रेसकै नेतृत्वमा हासिल भएको बताए।
चौरसियाले काँग्रेसकै पहलमा जनताको पक्षमा धेरै महत्वपूर्ण कानुनहरू ल्याइएको भन्दै आमाको नामबाट नागरिकता वितरणसम्बन्धी कानुन पनि त्यसैको उदाहरण भएको बताए। उनले जनताले अझै पनि काँग्रेसमाथि पूर्ण विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार पर्सा क्षेत्र नम्बर २ मा हालसम्म भएका धेरै विकास निर्माणका कार्यहरू नेपाली काँग्रेसकै नेतृत्वमा सम्पन्न भएका छन्।
चौरसियाले सडक सञ्जाल विस्तार गर्दै गाउँगाउँसम्म उद्योग सञ्चालनको वातावरण बनाउने लक्ष्य रहेको बताउँदै विकासका सपना साकार पार्न जनताको साथ आवश्यक रहेको बताए।
जनताले गरेका अपेक्षाहरू आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले काँग्रेस सधैं सेवा, अधिकार र विकासका लागि तत्पर रहँदै आएको र आगामी दिनमा पनि निरन्तर रहने स्पष्ट पारेका छन् ।

