वीरगन्ज २, फागुन: नेकपा एमाले पर्सा क्षेत्र नम्बर–३ मा आज विशेष पुनर्मिलन कार्यक्रम आयोजना गरिएको छ। आयोजित कार्यक्रममा पर्सा क्षेत्र नं. ३ (ख) का निर्वतमान प्रदेश सांसद तथा एमालेका पुराना नेता प्रहल्लाद गिरी र युवा नेता रमेश साह सहितका नेताहरू पुनः एमालेमा फर्किएका छन्।
कार्यक्रममा सहभागी नेताहरूलाई नेकपा एमालेका पर्सा ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार रुपेश कुमार पाण्डेय,पुर्व प्रदेश मन्त्री प्रमोद जयसवाल लगायत पार्टीका स्थानीय अगुवा तथा कार्यकर्ताहरूले स्वागत गर्दै “पुरानो घर एमालेमा फर्किएको” भन्दै खुशी व्यक्त गरेका थिए।
नेताहरूले मुलुकको राष्ट्रियता जोगाउन एमाले बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आगामी निर्वाचनमा सूर्य छापमा मतदान गर्न आग्रह गरे।
पुनः पार्टीमा फर्किएका प्रहल्लाद गिरीले पर्सा क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार रुपेश कुमार पाण्डेयलाई समर्थन जनाउँदै एमालेको अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमले क्षेत्र नं. ३ मा एमालेको संगठन थप मजबुत हुने विश्वास पार्टीले लिएको छ।

