
वीरगन्ज २८,माघ: पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत जिराभवानी गाउँपालिकाको परसवा टोल तथा वडा नम्बर–५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार रिजालले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै कांग्रेसको पक्षमा समर्थन जुटाएका छन्। घरदैलो अभियानका क्रममा उनले विकास, सुशासन र जनताको अधिकारका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले भने,“जनताको आवाजलाई केन्द्रमा राखेर क्षेत्रको समग्र विकास र समृद्धि हाम्रो प्रमुख लक्ष्य हो। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

उनले लोकतन्त्रको रक्षा गर्दै समावेशी विकासको बाटोमा अघि बढ्न कांग्रेसलाई विजयी गराउन आग्रह गरे। स्थानीय बासिन्दाहरूले पनि रिजालप्रति सकारात्मक प्रतिक्रिया दिँदै यसपटक परिवर्तन र विकासका लागि कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरेका छन्।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


