वीरगन्ज,२६माघःपर्सा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २८ मा सोमबार चुनावी कार्यक्रमका शीलशीलामा पुगेका पर्सा–२ का नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियालाई त्यहाँका युवाहरूले भव्य स्वागत गर्दै समर्थन जनाएका छन्।
चौरसियालाई स्वागत गर्दै युवाहरुले समाज परिवर्तनका लागि नयाँ र पुरानो नभई स्पष्ट र दीर्घकालीन दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको बताए। उनीहरूले वर्तमान अवस्थामा समाजले खोजेको नेतृत्व उमेरले मात्रै नभई सोच, नीति र कार्यदिशाले पनि जेन्जी हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी युवाहरूले “भिजनबिनाको नेता स्वीकार्य हुँदैन”, “समाज परिवर्तनका लागि नयाँ सोच चाहिन्छ” जस्ता नाराहरूपनि लगाएका थिए ।
उक्त अवसरमा कांग्रेस उम्मेदवार चौरसियाले युवाहरूको समर्थनप्रति आभार व्यक्त गर्दै युवा शक्ति नै राष्ट्र परिवर्तनको मूल आधार भएको बताए। उनले शिक्षा, रोजगारी, उद्यमशीलता र स्थानीय विकासमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। “युवाको ऊर्जा र विचारलाई नीति निर्माणमा समेट्न सकियो भने मात्रै दिगो परिवर्तन सम्भव हुन्छ,” चौरसियाले भने।
कांग्रेसका उम्मेदवार चौरसियाले कांग्रेसले सदैव जनतालाई केन्द्रविन्दुमा राखेर प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गर्दै आएको पनि बताए ।

