वीरगन्ज,२६ माघः बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार ईन्जिनियर अरविन्द साहले मतदाताको घरदैलोमा पुगेर चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् ।
जनताको घरदैलोमा पुग्ने क्रमलाई निरन्तरता दिएका साह सोमबार बिहानै कलैया उपमहानगरपालिका वडा नम्बर १८ मंगढवामा पुगे । त्यहाँका मतदातासँग भेटघाट तथा कुराकानी गर्दै उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । मत माग्दै उनले भने, “पेशाले म इन्जिनियर हुँ, तपाईँहरुकै गाउँघरको र तपाईँहरुकै छोरा हुँ । मलाई यसपाली साथ दिनुहोला, म पनि यस ठाउँको विकासका लागि सधैं तपाईँहरुसँगै हुनेछु ।”
घरदैलोका क्रममा उनले ठूला–ठूला र अव्यवहारिक सपना देखाउनेभन्दा पनि जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा केन्द्रित रहने धारणा राख्दै आएका छन् । प्रतिनिधि सभा सदस्यको कार्यक्षेत्रभित्र पर्ने नीतिगत तथा संरचनागत समस्याहरू समाधानका लागि पहल गर्ने, स्थानीय पूर्वाधार सुधार, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण तथा युवालाई रोजगारीका अवसर सिर्जनामा प्राथमिकता दिने उनको भनाइ छ ।
मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव संकलन गर्ने र त्यही आधारमा नीति निर्माणमा आवाज उठाउने आफ्नो कार्यशैली रहेको उनले बताउने गरेका छन् ।

