वीरगन्ज,२४माघःपर्साको पोखरिया नगरपालिका वडा नम्बर–३ मा पर्ने फुलवरिया र बसन्तपुर गाँउमा शनिबार नेपाली कांग्रेसको चुनावी घरदैलो कार्यक्रम सम्पन्न भएको छ । पर्सा–४ का कांग्रेस उम्मेदवार रमेश रिजालले ती दुवै गाँउमा चुनावी घरदैलो गर्दै मतदातासंग संवादपनि गरेका थिए ।
त्यसक्रममा कांग्रेस उम्मेदवार रिजालले जनताका गुनासा र समस्या सुनेपछि उनिहरुको चाहना अनुसार आँफुले फेरिपनि काम गर्ने वाचापनि गरे । पूर्व उद्योगमन्त्रीसमेत रहेका रिजालले लोकतन्त्रको रक्षासंगै देश विकासका लागि काम गर्ने दल कांग्रेसमात्रै रहेको दाबी गरे । उनले नयाँ र पुरानाको चक्करमा नपरेर कांग्रेसलाई मतदान गरेर जिताउन मतदाताहरुसंग आग्रह पनि गरे ।
आँफुलाई अहिले नयाँ भनाउँदाहरुको देश निर्माण र विकासमा कुनै योगदान नभएको भन्दै उनले उनिहरु विचार र सिद्धान्तविहिन भएको टिप्पणी गरे । अहिले युवा नेतृत्वले हाँकेको कांग्रेस नै नयाँ पार्टी भएको भन्दै रिजालले भने,‘ कांग्रेस अहिले नेतृत्वले मात्र नभई विचारले पनि नयाँ बनेको छ । रुपान्तरित कांग्रेसप्रति देशभर जनताको लहरपनि बढेको छ ।
अहिलेको राजनीतिक संकटबाट निकास दिदैं कांग्रेसको नेतृत्वमा मात्रै समावेशी विकास, जनअधिकारको रक्षा र स्थायित्व सम्भव हुने उनले बताए ।
चुनावी घरदैलो कार्यक्रममा पोखरिया नगरपालिकाका पूवमेयर दिपनारायण रौनियार,कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय अध्यक्ष श्रीकान्त प्रसाद यादव,बिन्दवासिनी गाँउपालिकाका कांग्रेस युवा नेता विवेक चौरसिया लगायतकाकोपनि सहभागिता थियो ।

