वीरगन्ज,१३माघःपर्सा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर–५ झखरा मसिहानीमा मंगलबार आयोजित कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा त्यसक्षेत्रका निवर्तमान सांसद समेत रहेका रिजालले पर्सा–४ मा यसपालि फेरि कांग्रेसको जित सुनिश्चित रहेकाले उच्च मनोबलका साथ चुनावी अभियानमा लाग्न कांग्रेस नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।
कांग्रेसको नेतृत्व युवामा पुस्तान्तरणमा भएसंगै देशभर कांग्रेसप्रति जनलहर बढ्नका साथै कार्यकर्ता र समर्थकहरुमा उर्जा थपिएकोले कांग्रेसलाई कुनैपनि शक्तिले हराउन नसक्ने ठोकुवापनि उनले गरे ।
पर्सा–४ का जनताको घरदैलोमा चुनावी प्रचारका क्रममा जाँदा कांग्रेसले जितेका पालिका र वडाहरुमा जनप्रतिनिधिहरुले गरेका कामको बारेमा मतदातालाई स्पष्ट रुपमा बुझाउन आवश्यक रहेको भन्दै रिजालले भने,‘ हरेक कार्यकर्ताले यो चुनावलाई आफ्नो प्रतिष्ठाका रुपमा लिएर लाग्न जरुरी छ ।’
रिजालले यसपालिको निर्वाचनलाई आफ्नो अन्तिम राजनीतिक लडाइँको रूपमा लिएको उल्लेख गर्दै आगामी निर्वाचनका लागि युवा तथा नयाँ नेतृत्वलाई संसदीय चुनावका लागि तयारी गर्न समेत आह्वान गरे।
कांग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भेलामा मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह–सचिव नविन सिंह, नेता बशिष्ठ नारायण कुर्मीलगायतकाको पनि सहभागिता रहेको क्षेत्रिय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

