Madhes Khabar
राजनीति

सर्लाही–४ मा उम्मेदवारीबारे गगन थापाले भने : सजिलो छाडेर अफ्ठ्यारो रोजेको हुँ

काठमाडौं,१०माघःनेपाली कांग्रेसका सभापति गगन थापाले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोजेको बताएका छन्।

शनिबार काठमाडौंको बानेश्वरमा सर्लाहीका मतदाताहरूसँगको अन्तरक्रिया कार्यक्रममा कांग्रेस सभापति थापाले यसपालि तुलनात्मक रूपमा काठमाडौं–४ आफ्ना लागि सहज भए पनि सर्लाही गएर अफ्ठ्यारो बाटो रोजेको बताएका हुन्।

’यो पटकको निर्वाचन मलाई काठमाडौ असाध्यै सहज निर्वाचन थियो। यसको आधार के हो भने म काठमाडौमा उम्मेद्वार बन्ने की सर्लाहीमा उम्मेद्वार बन्ने भन्ने बाहिर समाचार आइरहँदा पार्टीले उम्मेद्वार पनि छानेन। मलाई यो पटकको निर्वाचन काठमाडौ सजिलो थियो तर सजिलो हुँदैगर्दा पनि अफ्ठ्यारो रोजेको हुँ,’ उनले भने।

उनले आफूले अठोट नै गरेर काठमाडौं बाहिर जानुपर्ने बताएका छन्। अघिल्लो पटक सिफारिस भए पनि आँट गर्न नसकेको तर यसपालि आँट गर्नैपर्छ भनेर आँट गरेको बताए। ’मैले जोखिम लिएर भए पनि आफूलाई मधेसमा समर्पित गरेँ। एक पटक मधेसको नेतृत्व गर्ने प्रयास गरेँ भने मात्र म नेपालको राष्ट्रिय नेता हुन सक्छु। यसको निम्ति म मधेस जाने हो, त्यहीको साथीहरुसंग जाने हो, त्यही भिज्ने हो। त्यहाँको भाषा सिक्ने हो, त्यहाँको सबै कुरा सिक्ने हो, जान्ने हो, बुझ्ने हो,’ उनले भने।

सभापति थापाले चुनावमा मात्रै नभई पार्टीभित्र पनि अफ्ठ्यारो बाटो रोजेको बताए।’अस्ति भर्खर ५ वर्षका लागि पार्टीबाट निकालिएको हुँ। त्यो विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनुभएको भए, आज म पार्टीबाट निष्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थेँ। म आफ्नो लडाईं लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ, बाँकी नियतिको हातमा छ, भन्ने कुराको विश्वास गर्ने मान्छे हुँ। त्यसैले आफ्नो लडाईं लडेको हुँ। सजिलो बाटो रोजेर सजिलो ठाउँमा बसेको होइन। पार्टीमा जे गरेर आएको हुँ, अहिले उम्मेद्वारीको सन्दर्भमा पनि त्यही गर्ने मेरो प्रयास हो,’ उनले भने।

उनले काठमाडौं–४ बाट तीन पटक निर्वाचित हुँदै गर्दा त्यहाँ कांग्रेसले मात्रै नभई अरू दलका मतदाताहरूले पनि आफूलाई भोट हालेको बताउँदै आफू सबैप्रति ऋणि रहने बताए।साभारःसेतोपाटी

 

Related posts

सिके राउत सरकारमा सहभागी हुने, मधेसमा कांग्रेसलाई सघाउने

MadhesKhabar

प्रदेशसभा सदस्य उम्मेदवार कुर्मी भन्छन् : कामको मुल्यांकन गरेर जनताले फेरि जिताउछन्

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा चुनाव जितेका विधार्थीहरु धर्नामा

MadhesKhabar

Leave a Comment