वीरगन्ज,१०माघःपर्सा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले काठमाडौंको पूर्वमेयर बालेन शाहलाई गजेडी र स्माइकरको संज्ञा दिएका छन् ।
शनिबार वीरगन्जको नगरसभा गृहमा आयोजित कांग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौरसियाले बालेनलाई लुसिफरको पनि संज्ञा दिदैं भने,‘ बालेन शाह गँजेडी हो, स्माइकर हो । स्माइकरहरुले सुन्न मन पराउने गीत गाउने ¥यापर गायक हो ।’
सधै गाँजा खाएर नशामा रहने गँजेडी बालनले अब देश बनाउँछु भनेर गफ दिदैं हिड्नु हास्यास्पद भएको टिप्पणीपनि उनले गरे । बालेन शाह कहिल्यैपनि मधेसी नभएको भन्दै चौरसियाले भने,‘ अहिले चुनाव जित्नका लागि बालेन शाहले आँफुलाई मधेसको छोरो भन्दै भ्रम छर्दै हिडेको छ । जबकि उ कहिल्यै मधेसी नै भएन । काठमाडौको मेयर रहदाँ त्यहाँका सडकमा व्यपार गर्ने हजारौं मधेसीलाई सधै कुट्दै लखेट्ने काममात्रै गरेका थिए । मधेसीको सबैभन्दा ठूलो पर्ब छठ रानीपोखरीमा मनाउन दिएनन् । आज चुनाव जित्नका लागि उसले आँफुलाई मधेसी भन्दै हिडेको छ ।’
कांग्रेसले आगामी निर्वाचनमा देशभरका कूल १ सय ६५ उम्मेदवारमध्ये १ सय २० जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको भन्दै चौरसियाले भने,‘ कांग्रेसमा आएको नयाँ नेतृत्वले देशभर उर्जा थपिएको छ ।’
अहिले प्रोपगण्डा गरेर कांग्रेसलाई सक्काउँछु भनेर कसैले सोचेको छ भने त्यो दीवासपना मात्रै हुने भन्दै चौरसियाले भने,‘ राणा, पञ्चायत, राजा र माओवादीले त कांग्रेसलाई यो देशबाट सक्काउन सकेनन्। अरुको त के कुरा गर्नु ? कांग्रेस हिजोपनि शक्तिशाली नै थियो, आजपनि छ र भोलिपनि शक्तिशाली नै रहनेछ ।’
चौरसियाले विदेशी शक्तिले नेपाललाई रणभूमी बनाउने प्रयास गरिरहेको बताए । उनले भने,‘ विदेशी सेना यहाँ ल्याएर यो देशलाई रणभूमी बनाउने प्रयास हुदैछ । यदि देशमा शान्ति, अमनचयन कायम गर्ने हो भने संविधान जोगाउन जरुरी छ । संविधान जोगाउन कांग्रेसले जित्न जरुरी छ । यदि कांग्रेसले जितेन भने संविधान जोगिदैन,अनि यो देशको शान्ति, अमन चयन समाप्त हुन्छ।’
चौरसियाले अनर्गल कुराको पछाडि नलाग्न नेताकार्यकर्तालाई आग्रहपनि गरे ।चौरसियाले स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर साह तेलीको उम्मेदवारी फिर्ताको विषयलाई लिएर फैलाइएको झुठा अफवाहको पछि नलाग्न आग्रह गरे ।
उनले भने,‘ राजेश्वर साहजीले मसंग २ करोड रुपैयाँ लिएर उम्मेदवारी फिर्ता लिएको भनेर हाम्रै पार्टीका केहि व्याक्तिले अनर्गल अफवाह फैलाइरहेका छन् । त्यसमा कुनै सत्या छैन । दुई करोड त के मैले ५० लाख रुपैयाँपनि एकपटकमा आजसम्म देख्न पाएको छैन । अनि कहाँबाट त्यत्रो दुई करोड रुपैयाँ ल्याएर अरुलाई दिनु ? ।’
उनले शुक्रबार राजेश्वर साह तेलीको घरमा आँफु गएर आग्रह गरेलगत्तै उनले उम्मेदवारी फिर्ता लिएर कांग्रेसलाई जिताउन प्रतिबद्धता जनाएको जिकिर गरे । उनले भने,‘ बिना कुनै शर्त राजेश्वर जीले उम्मेदवारी फिर्ता लिन राजि हुनु भयो ।त्यसका कारण अनर्गल प्रचारको पछाडि नलाग्न म आग्रह गर्छु ।’
उनले थपे,‘ यदि कांग्रेसले मलाई टिकट नदिएको भए, जसले पार्टीबाट टिकट पाउँथ्यो, उसलाई जिताउन म इमान्दारीताका साथ लाग्ने थिए । त्यसका कारण बजारमा फैलाइएका झुठा अफवाहका पछाडि कोहिपनि लाग्न आवश्यक छैन ।
क्षेत्रीय सभापति महमद साहबुद्धिनको अध्यक्षतामा भएको क्षेत्रीय भेलामा कांग्रेस केन्द्रिय सदस्य रामरुप कुर्मी ,मधेस प्रदेश सरकारका भूमी व्यवस्था,कृषि तथा सहकारीमन्त्री श्याम पटेल, कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, पर्सा–४ का कांग्रेस उम्मेदवार रमेश रिजा,पर्सा–३ का कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरी, पर्सा–१ का कांग्रेस उम्मेदवार अनिल रुंगटा,पूर्वमन्त्री ओमप्रकाश शर्मा, कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम लगायतकालेपनि सम्बोधन गरेका थिए ।

