वीरगन्ज,२१असोजः जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले इजरायलको द्वन्द्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको अविलम्ब उद्धार गर्न नेपाल सरकारसंग माग गरेका छन् ।
आइतबार प्रतिनिधीसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले इजरायलमा हमासको आक्रमणले असुरक्षित भई उद्धारको पर्खाइमा रहेका नेपालीहरुलाई तत्काल उद्धार गरि स्वदेशमा ल्याउनका पहल गर्न सरकारसंग माग गरेका हुन् ।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य समेत रहेका यादवले भने,‘ इजरायलको द्वन्द्धमा फसेका नेपालीहरु असुरक्षित छन् । उद्धारका लागि गुहार मागी रहेका छन् । उनिहरुलाई जसरी हुन्छ नेपाल सरकारले अविलम्ब उद्धारका लागि पहल गरिहाल्नुपर्छ ।
यस्तै बझाङमा भुकम्पबाट पिडित घाइते र घरबारविहिन भएकाहरुको उद्धार र राहतमा लाग्नपनि उनले सरकारसंग आग्रह गगरे ।
फरक प्रसंगमा सांसद यादवले अहिले संघीयतालाई बदनाम गर्न र कमजोर पार्ने नियतले विभिन्न नाममा जुलु्श र प्रदर्शैन भइरहेकाले त्यसलाई रोक्नपनि सरकारसंग माग गरे ।
यादवले भने,‘ यो मुलुकमा संंघीयता कसैको दान वा उपहारमा आएको होइन । लाखौं जनताको संघर्ष र हजारौंको बलिदानीबाट संघीयता आएको हो । त्यसका कारण संघीयतालाई कमजोर पार्ने वा बदनाम गराउने तत्वको पहिचान गरेर सरकारले तत्काल उनिहरुविरुद्ध कानूनी कारबाही अगाडि बढाई हाल्नु पर्छ ।

